मंसिरमा एक दिन, फागुनमा १३ दिन : नयाँ सालमा बिहेको साइत

२२ माघ २०७४, सोमबार ११:४६

माघ २२, काठमाडौं ।

आगामी वर्ष विवाहको लगन फागुनमा धेरै परेको छ । विवाहको महिना मानिने मंसिरमा भने एक दिनमात्रै साइत परेको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिले विसं २०७५ का लागि १३ वटा पात्रो (पञ्चाङ्ग) लाई प्रकाशनको स्वीकृति दिएको छ । जसमध्ये एक ‘सूर्य पञ्चाङ्ग’का अनुसार आगामी वर्ष विवाहका लागि कुल ३४ वटा साइत जुरेका छन् ।

बैशाखमा ५,६,१६ र २८ गते गरी चार दिन विवाहमूहूर्त छ भने असारमा ६, ७, ९, ११, १५, र १६ गते छ ।

तर, मंसिरमा भने एक दिनमात्रै बिहेको साइत छ । ‘सूर्य पञ्चाङ्ग’का अनुसार मंसिर महिनामा २९ गते मात्रै विवाहमूहूर्त छ ।

माघमा १० दिन बिहेको साइत छ । पात्रो अनुसार माघ ३, ४, ८, ९, ११, १३, १४, १५, २६ र २७ गते बिहे गर्न साइत जुर्छ ।

०७५ साल फागुनमा सबैभन्दा धेरै, अर्थात् झण्डै आधा महिना -१३) दिन विवाहको साइत जुरेको छ । फागुन १, २, ७, ८, ९, १०, १३, १४, २३, २४, २५, २८ र २९ गते बिहेको साइत जुरेको छ ।

व्रतबन्धको साइत जम्मा चार दिन

आगामी वर्ष व्रतबन्धका लागि निकै कम साइत जुरेको छ । ‘सूर्य पञ्चाङ्ग’का अनुसार असारमा ८ र २१ गते अनि माघ २७ र फागुन ९ गते मात्रै व्रतबन्धको साइत जुरेको छ ।