पार्टी एकताका लागि एमाले र माओवादी दुबैले पुरानो पोजिसन छोड्नुपर्ने: पूर्व परराष्ट्रमन्त्री महरा

२२ माघ २०७४, सोमबार १०:३०

माघ २२, काठमाडौं ।

दाङमा माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले पार्टी एकताका लागि एमाले र माओवादी दुबैले पुरानो पोजिसन छोड्नुपर्ने बताएका छन् ।

घोराहीमा कार्यकर्ता भेटघाट गर्दै महराले दुई पार्टीवीच एकता हुँदा पुरानो मनोविज्ञान त्याग्नुपर्ने धारणा राखेका हुन् ।


नयाँ पार्टी निर्माणमा पुरानो संख्याको कुनै औचित्य नहुने उनको भनाइ छ । ‘पार्टी एकता गर्दा संख्या महत्वपूर्ण कुरा होइन, विचार र राजनीतिलाई केन्द्रमा राखेर गर्नुपर्छ’ नेता महराले भने, ‘पार्टी एकता गर्दा निर्वाचनमा तालमेल गरे अनुसार ६० र ४० वा सत्तामा साझेदारीको ७० र ३० को मापदण्ड लागू हुँदैन ।’

महराले निर्वाचन मार्फत जनताले पार्टी एकताको म्याण्डेट दिएकाले एकताबाट पछि हट्ने छुट कसैलाई नभएको बताए । ‘अहिले दुई पार्टीका अध्यक्षहरु पार्टी एकता लागि गम्भीर छलफल गरिरहनुभएको छ,’ उनले भने, ‘पार्टी एकता हुन्छ, सकभर सरकार निर्माण भन्दा पहिले नै पार्टी एकता गरौं भन्ने हाम्रो भनाइ हो ।’

फरक प्रशंगमा पूर्व परराष्ट्रमन्त्री समेत रहेका महराले यद्यपि भारतीय विदेशमन्त्री सुस्मा स्वराजको नेपाल भ्रमणको उद्देश्य आफूलाई थाहा नभएको बताए ।