मन्जिल कन्दङ्वा
माघ २२, काठमाडौं ।
नायिका स्वेता खड्का आज आफ्नो जन्मदिन मनाउँदैछिन् । चलचित्र ‘कान्छी’को रिलिज दिन नजिकिदै गर्दा स्वेताका लागि अहिले चटारो पनि परेको छ ।
चलचित्र ‘कहाँ भेटिएला’बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी नायिका स्वेता खड्काले भोली काठमाण्डौमा ‘कान्छी सुपर नाइट्स’को आयोजना पनि गर्दैछिन् ।
उनलाई चलचित्र ‘कहाँ भेटिएला’ले परिचित गरायो भने ‘कोहिनुर’बाट उनी निर्मात्रीको रुपमा पनि हिट भइन् ।
बिहे गरेको एक महिनामै नै नायक श्रीकृष्ण श्रेष्ठको निधन भएपछि केहि बर्ष मिडिया र चलचित्र क्षेत्रबाट टाढा रहेकी स्वेता फागूण ४ गतेबाट भने चलचित्र ‘कान्छी’ लिएर दर्शकमाझ आउँदैछिन् ।
-
‘मलाई केक काट्ने भन्ने वित्तिकै लाज लाग्छ ।’
नायिका खड्काले आफूलाई जन्मदिनमा केक काट्न मन नलाग्ने बताइन् । उनले भनिन्-‘मलाई खासै जन्मदिनमा पहिलेदेखि नै केक काट्न मन लाग्दैन । आज पनि केक काट्न मन लागेको छैन ।’
स्वेताका अनुसार आज राती १२ बजे उनको भाइले केक ल्याएर सरप्राइज शुभकामना दिएका थिए ।
जन्मदिनमा आफूलाई केक काट्न भन्दा पनि समाजसेवा गर्न मन लाग्ने उनको भनाई छ । स्वेताले भनिन्-‘मलाई केक काट्ने भन्ने वित्तिकै लाज लाग्छ ।’ उनले आफ्नो उमेर पनि खुलाउन चाहिनन् । भनिन् –‘बल्ल २३ बर्षमा लागेँ ।’
स्वेताले जन्मदिनको अवसरमा आफूलाई धेरै शुभकामना आएपनि त्यसको जवाफ दिन नपाएको बताइन् ।
- नायिका स्वेता खड्कालाई आयोखबरको तर्फबाट पनि जन्मदिनको शुभकामना ।
स्रोत:अनलाइनखबर