प्रदेश १ को राजधानी इटहरी आसपास बनाउने एमालेको तयारी

२२ माघ २०७४, सोमबार ०८:४२

माघ २२ , काठमाडौं ।

प्रदेश १ को राजधानी कहाँ राख्ने भन्ने विवाद भइरहेकै बेला यस प्रदेशको राजधानी बिराटनगरबाट अन्तयत्र सार्ने एमालेले आन्तरिक योजना बनाएको छ । प्रदेश सरकार गठन भइसकेपछि विराटनगरमा रहेको राजधानीलाई इटहरी आसपास सार्ने योजना रहेको एमाले स्रोतले बतायो ।

 


प्रदेश १ मा एमालेको एकल बहुमत भएकाले एमालेकै नेतृत्वमा सरकार बन्ने पक्कापक्की छ । एमालेबाट मुख्यमन्त्रीको दाबी गर्नेहरुमा भीम आचार्य, शेरधन राई र जीवन घिमिरे छन् । यद्यपि उनीहरुले औपचारिकरुपमा राजधानीबारे आफ्नो मत सार्वजनिक गरेका छैनन् ।

  • भीम आचार्य आफैं इटहरीका हुन् । शेरधन राई भोजपुरका हुन् । जबकी भोजपुर र खोटाङका एमाले नेताहरु विराटनगरलाई राजधानीका लागि अपायक मान्छन् ।

प्रदेश १ को राजधानी माग गर्नेहरुमा बिराटनगर, इटहरी, धरान र धनकुटाबासीहरु मुख्यरुपमा देखा परेका छन् । धनकुटामा राजधानीका लागि आन्दोलन नै चलिरहेको छ । धरान र इटहरीले आन्दोलन नगरी राजधानीका लागि भित्रीरुपमा लविङ गरिरहेका छन् ।

इटहरीका साथै मोरङको गोठगाउँ, सुनसरीको तरहरा र पकलीमा समेत प्रदेशको राजधानी हुनुपर्ने माग उठ्ने गरेको छ ।