झापाली समाजको आयोजनामा यूएईमा निस्शुल्क स्वास्थ्य शिविर

२१ माघ २०७४, आईतवार ०९:१९

माघ २१, काठमाडौं ।

अबुधाबीमा झापाली समाज यूएईले माघ १९ गते शुक्रबार यूएईको राजधानी अबुधाबीमा निस्शुल्क स्वास्थ्य शिविरसहित वनभोज कार्यक्रमको आयोजना गरेको छ ।

अबुधाबीको लाइफ केयर हस्पिटलको सहयोगमा सम्पन्न शिविरमा तीन सयभन्दा बढी नेपालीहरुले स्वास्थ्य परीक्षण गरेका छन् ।


संस्थामा आवद्ध सदस्यहरु बीच एकता, सहयोग र सहकार्य बढाउने उद्देश्यले बर्सेनी आयोजना भइरहेको यसपालिको वनभोजमा मिर्गौला रोगबाट पीडित झापाली पत्रकार माया पकवालका लागि करिब ३० हजार रुपैयाँ संकलन भएको छ ।

उक्त रकम नेपाल पत्रकार महासंघ यूएई शाखामार्फत पीडित पत्रकार पकवालसमक्ष हस्तान्तरण गरिने वनभोज ब्यबस्थापन समितिका संयोजक हिमाल अधिकारीले जानकारी दिएका छन् ।

समाजको क्षेत्रीय समिति अबुधाबी र युवा, खेलकुद तथा संस्कृति बिभागको अग्रसरतामा अबुधाबीको रमणीय खालिफा पार्कमा आयोजित वनभोजमा झापाली समाज आवद्ध र अन्य संघसंस्थाका गरि करिब ६ सय नेपाली तथा अन्य देशका नागरिकहरु समेत सहभागी थिए ।

यूएईका विभिन्न प्रान्तमा रहेका सदस्यहरुलाई एउटै थलोमा भेला गरी एकआपसमा घुलमिल तथा सम्बन्ध सुदृढीकरणका निम्ति फलदायी हुने विश्वासका साथ वनभोज कार्यक्रमको आयोजना गरिएको झापाली समाजका केन्द्रीय सचिव जगत लुइटेलले बताए ।

वनभोजमा साबियामा रहेको नाङ्लो रेस्टुरेन्टबाट स्वादिष्ट नेपाली परिकारको ब्यवस्था गरिएको थियो । परदेशी भूमिमा नेपाली स्वाद लिंदै पूर्ण सांगीतिक मनोरञ्जन प्राप्त भएको भन्दै सहभागीहरुले खुसी व्यक्त गरेका थिए ।

वैदेशिक रोजगारीका क्रममा झापा जिल्लाबाट यूएई आएका तीन सय बढी आजीवन सदस्य आवद्ध झापाली समाज सामाजिक क्रियाकलापका हिसाबले यूएईकै ठूलो सामाजिक संस्था मध्येको एक हो ।