किन चाहियो चीनलाई बेलायती सुँगुरको फौज ?

२१ माघ २०७४, आईतवार ०८:५२

माघ २१, काठमाडौं । एजेन्सी

चीनले ठूलो परिमाणमा बेलायती सुँगुरको विर्य खरिद गरिरहेको छ । जसका कारण बेलायतको सुँगुर बजारमा अहिले सुँगुरको विर्यको माग उच्च बनेको छ ।

सुँगुरको विर्य खरिद गर्नका लागि चीनले बेलायतसँग २ लाख पाउण्डको खरिद सम्झौता गरेको छ । बेक्जिटपश्चात चीन र बेलायतबीच भएको यो पहिलो आर्थिक सम्झौता हो ।

योसँगै उत्तरी आयरल्याण्डमा पालिने विशेष जातका सुँगुरको फ्रिज गरिएको विर्यलाई जहाज चढाएर ५ हजार माइल टाढा रहेको चीनमा पठाइनेछ । निर्यात गरिने विर्यलाई लिक्विड नाइट्रोजनको बट्टामा राखिएको छ ।

बेलायतमा व्यवसायिक तबरले ठूलो संख्यामा सुँगुरको ब्रिडिङ गरेको इतिहास छ । त्यसका लागि उच्च प्रजनन विधि विकसित गर्न सजिलो छ ।

चीनमा सुँगुरको मासुको माग उच्च भए पनि बेलायतमा जस्तो सुँगुरको उत्पादकत्व उच्च नहुँदा माग धान्न धौ धौ भएको छ । त्यसैले बढि उत्पादकत्व प्रदान गर्ने नश्लको बेलायती सुँगुरको विर्य चीनले खरीद गरेको हो । ता की यसबाट कृत्रिम गर्भाधान गराएर मासुको माग धान्न सक्नेगरी ठूलो परिमाणमा सुँगुर उत्पादन गर्न सकियोस् ।

उत्तरी आयरल्याण्डमा पाइने उक्त नश्लको सुँगुरलाई अन्य सुँगुरको भन्दा कम आहाराले पुग्ने र बढि भन्दा बढि बच्चा जन्माउने गर्दछ ।