प्रदेश ५ मा पहिलो प्रदेशसभा बैठक सुरु

२१ माघ २०७४, आईतवार ०७:३८

माघ २१, काठमाडौं ।

आइतबार दिउँसो १ बजे बोलाइएको प्रदेश ५ को पहिलो प्रदेशसभा बैठक सुरु भएको छप्रदेशसभाका जेष्ठ सदस्य ७९ वर्षीय बलदेव शर्मा पोखरेलले सभामुखको हैसियतमा सञ्चालन गर्ने बैठकको पाँचवटा कार्यसूची तोकिएको छ ।

सुरुमा सभामुख पोखरेलले प्रदेश प्रमुख उमाकान्त झाबाट प्राप्त अधिवेशन आहृवानसम्बन्धी पत्र पढेर सुनाउनेछन् । त्यसपछि प्रदेशसभामा प्रतिनिधित्व गर्ने विभिन्न दलका सांसदहरुले संबोधन गर्ने कार्यक्रम रहेको छ । सबैभन्दा पहिले नेकपा एमालेका स‌ंसदीय दलका नेता श‌ंकर पोखरेलले संवोधन गरेका छन् । प्रदेश ५ मा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस, संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टी र राष्ट्रिय जनमोर्चाको प्रतिनिधित्व छ ।

बाँके, बर्दिया, दाङ, रुकुम पूर्व, रोल्पा, प्युठान, गुल्मी, अर्घाखाँची, पाल्पा, नवलपरासी पूर्व र कपिलबस्तु जिल्ला रहेको यस प्रदेशमा प्रत्यक्ष र समानुपातिक पद्धतितर्फबाट गरी ८७ सांसद रहेका छन् ।

आइतबारकै बैठकमा सभामुखले प्रदेश ५ को प्रदेशसभा कार्यसञ्चालन अन्तरिम कार्यविधि २०७४ पारित गरियोस् भनी प्रस्ताव गर्नेछन् । उक्त प्रस्ताव आइतबार नै पारित गरेर सभामुखको निर्वाचनको मिति पनि तोक्ने तयारी रहेको छ ।

प्रदेश ५ को प्रदेशसभा बैठक बुटबलस्थित उद्योग वाणिज्य संघको सभाहलमा बस्नेछ । पहिलो बैठकका लागि यस हललाई रङरोगन गरेर चिटिक्क पारिएको छ ।