चितवनमा विद्युतीय शवदाह गृह बन्ने

२० माघ २०७४, शनिबार ०४:३५

माघ २०, काठमाडौं ।

चितवनतर्फको देवघाट क्षेत्रमा विद्युतीय शवदाह गृह निर्माणका लागि सर्भेको काम अघि बढाइएको छ । देवघाट क्षेत्र विकास समितिका अनुसार हिन्दू धर्मावलम्बीहरुको पवित्रधाम देवघाटमा चार कठ्ठा जग्गामा विद्युतीय शवदाह गृह बनाउने प्रकृया अघि बढेको हो ।

‘देवघाटमा विद्युतीय शव दाह गृह बनाउनको लागि सर्भेको काम गरिएको छ,’ देवघाट क्षेत्र विकास समितिका अध्यक्ष टंकनाथ पौडेलले भने, ‘शहरी विकास मन्त्रालयमार्फत नै सर्भे गरिएको हो, एक सातामा रिपोर्ट आउँछ त्यसपछि निर्माणको काम अघि बढ्छ ।’


शवदाह गृह निर्माणका लागि भरतपुर महानगरपालिकाले यसै वर्ष २० लाख रुपैयाँ बजेट छुट्टाएको छ । विद्युतीय शवदाह गृह बनाउन ७ करोड लाग्ने अनुमान गरिएको छ । यसै वर्ष शहरी विकास मन्त्रालयले पनि ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको अध्यक्ष पौडेलले बताए ।

सबै काम सकेर फागुन महिनाबाट निर्माणको काम थाल्ने योजना रहेको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष पौडेलले जानकारी दिए ।

शवदाह गृह निर्माणको लागि दाहसंस्कार व्यवस्थापन उपसमिति गठन गरिएको छ ।