‘ब्वाइफ्रेण्ड’कै सहयोगमा बलात्कार ? – दरबारमार्ग काण्ड

२० माघ २०७४, शनिबार ०३:०६

माघ २०, काठमाडौं ।

दरबारमार्गमा एक युवतीमाथि ‘सामुहिक बलात्कार’ घटनाको अनुसन्धान हुँदै जाँदा नयाँ प्रश्नहरु उब्जिएका छन–युवतीमाथि उनकै ‘ब्वाइफ्रेण्ड’को सहयोगमा सामुहिक बलात्कार भएको हो ? वा बलात्कारीले युवतीलाई फसाउनका लागि ‘ब्वाइफ्रेण्ड’ को अभिनय गरेका हुन् ? अनि ‘बलात्कार’ पछि प्रहरीको रोहबरमा युवतीलाई बिहे गर्ने सहमति कसरी र किन गरियो ?

घटनामा प्रहरीले अनुसन्धान गर्दैजाँदा युवतीका ‘प्रेमी’ र ‘बलात्कारी’ भनिएकाहरु वीचमै ‘कनेक्सन’ देखिएपछि प्रहरीलाई घटनाको तथ्यसम्म पुग्न निकै सकस परेको छ । यसमा प्रहरीको ‘मिलापत्र प्रकरणले’ घटनालाई झनै जटिल बनाएको छ । आखिर, रक्षक नै ‘बलात्कारी’को संरक्षक बनेको त होइन भन्ने आशंकामा प्रहरीकै दुई छुट्टाछुट्टै निकायले अनुसन्धान गरिरहेका छन् ।

अहिलेसम्म अनुसन्धान प्रारम्भिक चरणमै रहेकाले यो घटनाबारे अहिले नै कुनै निश्कर्षमा पुग्नु हतारो हुनेछ । तर, प्रारम्भिक अनुसन्धानमा देखिएका तथ्य, ‘पीडित युवती’को वयान र घटनास्थल ल्याण्डमार्क होटलमा त्यसदिन ड्युटीमा रहेका कर्मचारीहरुको बयानले केही अनौठा प्रश्नहरु उठाएको छ ।

यो घटनामा बलात्कारी, प्रेमी र प्रहरी तीनपक्ष मिसिएका छन् ।

पीडित भनिएकी युवतीले कहिले ‘बलात्कार’ त कहिले ‘राजीखुशी’ भनेर दिएको दिएको वयानले अनुसन्धानमा संलग्न प्रहरीहरुको दिमाग घुमाइदिएको छ ।

  • घट्नाको सुरुवात,

    लाजिम्पाटको ह्विस्कीबाट

बलात्कृत भनिएकी युवती कैलाली घर भई ललितपुरको झम्सीखेलमा बुबाआमासँगै बस्दै आएकी छिन् । उनी युवती २२ वर्षकी छिन् ।

कैलालीबाट उपत्यका आएकी युवतीले एकजना रामेछाप स्थायी घर भएका युवकलाई फेसबुकबाटै ‘ब्वाइफ्रेण्ड’ बनाइन् । र, अहिले तिनै ‘ब्वाइफ्रेण्ड’ का साथीहरुले उनलाई सामुहिक बलात्कार गरेको प्रकरणमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार करिब ६ महिनाअघि फेसबुकमार्फत उनको रामेछापका शैलेश कार्कीसँग चिनजान भयो । पछिल्लो समय ती युवती र शैलेश ‘प्रेम’मा रहेको र बाक्लो भेट हुने गरेको थियो । शैलेशले यसअघि पनि दरबारमार्गको ल्याण्डमार्क होटलमा ती युवतीलाई लिएर जाने गरेका थिए ।

माघ ११ गते ती युवती भक्तपुरस्थित एक जना साथीको घरमा जान्छु भन्दै बुबाआमासँग विदा मागेर डेराबाट निस्किएकी थिइन् । थाइकट हेयर स्टाइल र खैरो साइनिङ कलर गरेकी उनले घरबाट निस्कँदा नीलो जिन्स पाइन्ट लगाएकी थिइन् । तर, भक्तपुर जाने भनेर डेराबाट हिँडेकी उनी लाजिम्पाट पुगिन् ।

युवतीले दरबारमार्ग बृत्तका प्रहरीलाई दिएको वयानका क्रममा भनेकी छिन्, ‘शुक्रबार मेरो विदा भएकाले साथीकहाँ जाने भनेर निस्किएकी थिएँ, वीचैमा शैलेशले बोलाएपछि उनलाई भेट्न लाजिम्पाट गएँ ।’

युवती र शैलेशवीच भूमि रेष्टुरेन्टमा भेटघाट भयो, जहाँ शैलेशका अन्य साथीहरु पनि थिए । शैलेशले एकजना युवकलाई ‘मेरो भाइ’ भन्दै युवतीसँग चिनजान गराए ।

भूमि रेष्टुरेन्टमा खाजासँगै युवतीले ‘वाइन’ पिइन् । शैलेश र अरु युवाले हार्ड ड्रिंक्स लिए ।

‘वाइन खाएपछि मलाई एकदमै अर्कै फिल भयो, म होसमै थिइनँ’, युवतीले शुक्रबार घटनाको छानविन गर्न पुगेको महानगरीय प्रहरी वृत्तको टोलीसँग भनेकी छिन्, ‘साँझ भइसकेको थियो, त्यसपछि शैलेशले मलाई होटल ल्याण्डमार्कमा लग्यो । म एकदमै बेहोसीमै थिएँ ।’

वाइनमात्र लिँदैमा त्यति धेरै बेहोसी हुनु नपर्ने प्रहरीको अनुमान छ । तर, यसबारे अझैसम्म केही पनि खुलेको छैन ।

  • रातमा कोठा नं .४०५ को कथा

होटलका कर्मचारीले प्रहरीलाई दिएको जानकारीअनुसार शैलेश होटल ल्याण्डमार्कका पुराना ग्राहक हुन् । ल्याण्डमार्क होटलमा आउँदा शैलेश र ती युवती अङ्गालोमा बाँधिएर होटलभित्र छिरेको सीसी टीभी क्यामेरामा कैद छ ।

तथापि, युवती लठ्एिकी हुनाले शैलेशले सहारा दिएका हुन्, या दुबै स्वेच्छापूर्वक अंकमाल गरेर हिँडेका हुन्, स्पष्ट भन्न सकिँदैन ।

बलात्कारको घटना भएको भनिएको दिन अर्थात् माघ ११ गते साँझमा ल्याण्डमार्क होटलमा ड्यूटीमा रहेकी एक कर्मचारीका अनुसार बिहीबारका लागि शैलेशका नाममा कोठा नं. ४०५ र ४०६ बुक भएका थिए । शैलेशका साथी भनिएका दीपक श्रेष्ठका नाममा कोठा नं. १०५ र १०६ बुक थिए । प्रहरीका अनुसार श्रेष्ठ ठमेलका व्यापारी हुन् ।

होटलका कर्मचारीको वयान अनुसार शैलेशको समूह राति करिब साढे ८ बजेतिर होटलमा आयो । उनीहरुले मदिरा पिएको सहजै अनुमान लगाउन सक्ने अवस्था थियो ।

‘दिउँसै कोठा बुक गरिएको थियो । त्यसैले थप केही भन्ने कुरा पनि भएन’, एक जना कर्मचारीले भने । उनका अनुसार त्यसदिन चारवटै कोठामा बसेका व्यक्तिहरु त्यसअघि पनि त्यहाँ आउने र बस्ने गरेका थिए । यद्यपि, युवतीले भने आफू ल्याण्डमार्कमा पहिलोपटक गएको बयान दिएकी छिन् ।

ल्याण्डमार्कका स्टाफले भने यसअघि पनि युवतीलाई त्यहाँ शैलेशसँग देखेको बताएका छन्’, एक प्रहरी अधिकारीले भने, ‘ उनीहरुलाई हामीले नै सर्भ गरेका हौं भनेर प्रहरीकै बयानमा समेत कर्मचारीले भनेका छन् ।’

होटल कर्मचारीलाई उधृत गर्दै प्रहरीले गरेको दाबीलाई आधार मान्ने हो भने शैलेश र ती युवती ‘प्रेमजोडी’ नै हुन् भनेर अनुमान लगाउनुपर्ने हुन्छ । घटना भएको रात पनि शैलेश र ती युवती कोठा नं. ४०५ मा एकसाथ बसेको प्रहरी अनुसन्धानले देखाएको छ ।

युवती र शैलेश एउटा रुममा थिए भने अन्य कोठामा शैलेशका साथीहरु थिए । उनीहरुसँग आएका ‘केटी’हरु भने रातमा त्यहाँ नबसेको होटलवालाको वयान छ ।

र, रातको समयमा शैलेश र युवती बसेको कोठामा थप दुईजना प्रवेश गरेको देखिएको प्रहरी स्रोत बताउँछ । र, यहीँनेर ‘प्रेम’ र ‘बलात्कार’ छुट्याउन प्रहरीलाई हम्मे परेको देखिन्छ ।

आफ्नी प्रेमिकामाथि बलात्कार हुँदै गर्दा सँगै रहेका भनिएका बलात्कारीका साथी शैलेशचाहिँ कहाँ थिए ?

प्रेमीसँगै सुतेको कोठामा बलात्कार !

युवतीले आफू सुतेको कोठामा राति दुई जना प्रवेश गरेपछि बलात्कार गरेको वयान दिएकी छन् । प्रतिकार गर्दै आफू बाथरुममा गएको तर, आफूले छिस्किनी लगाउनुअघि नै एकजनाले जोडले ढोका तानेको उनको वयान छ ।

‘त्यसपछि उनीहरुले मलाई तानेर बेडमा ल्याए’, युवतीले शुक्रबार प्रहरीसँगको बयानमा भनेकी छिन्, ‘अनि, कपडा खोलिदिए ।’

युवतीको वयान अनुसार राति एक जना युवकले हात समाते भने अरुले बलात्कार गरे । ‘दिउँसो वाइन खाएपछि एकदमै कमजोर भएको फिल भइरहेको थियो, मलाई त खासै धेरै केही याद पनि छैन’, हाल प्रहरी नियन्त्रणमा रहेकी उनले वयानमा भनेकी छिन्, ‘हातसमेत समातेपछि केही गर्नै सकिनँ ।’

यहाँनेर एउटा प्रश्न अहिलेसम्म अनुत्तरित छ, आफ्नी प्रेमिकामाथि बलात्कार हुँदै गर्दा सँगै रहेका भनिएका बलात्कारीका साथी शैलेशचाहिँ कहाँ थिए ?

होटल स्टाफहरुका अनुसार मध्यरातमा युवती बलात्कार भएको घटनाबारे उनीहरुलाई कुनै जानकारी थिएन । युवतीले प्रतिकार गरेको वा सहयोग मागेको पनि उनीहरुलाई थाहा छैन । होटलका एक कर्मचारीका अनुसार बिहान करिब ८ बजे अन्य युवकहरुसँगै युवती पनि सामान्य रुपमै निस्किएकी थिइन् ।

एक कर्मचारी भन्छन्, ‘होटलबाट निस्किएपछि एकजना युवकले उनलाई घर (झम्सीखेल) सम्म पुर्‍याइदिन भन्दै एउटा ट्याक्सीलाई भन्यो र ५ सय रुपैयाँ भाडाका लागि भन्दै दियो ।’

तर, झम्सीखेल हिँडेकी युवती सीधै महानगरीय प्रहरी वृत, कमलपोखरीमा पुगिन् र आफूमाथि सामूहिक बलात्कार भएको बताइन् ।

तर, घटना भएको भनिएको होटलरहेको क्षेत्र दरबारमार्ग वृत्तले हेर्ने भन्दै कमलपोखरी प्रहरीले उनलाई दरबारमार्गमा पठायो । उनी लगत्तै दरबारमार्ग बृत्तमा आइन् र आफू बलात्कृत भएको उजुरी गरिन् ।

  • प्रयोग गरेको कण्डम बरामद

लगत्तै दरबारमार्ग बृतका सई चन्द्र भण्डारी नेतृत्वको टोली पीडित युवतीलाई लिएर होटल ल्याण्डमार्क पुग्यो । र, घटनास्थलको मुचुल्का उठायो ।

त्यसक्रममा सामूहिक बलात्कार भएको भनिएको कोठा नं. ४०५ बाट दुईवटा प्रयोग भएको कन्डमसमेत बरामद भयो । दीपक श्रेष्ठका नाममा बुक गरिएको कोठाबाट प्रहरीले ‘ब्ल्याक लेभल’ को बोतल बरामद गर्‍यो, जुन आधा रित्तिएको थियो ।

प्रहरी टोलीले घटनास्थलमा मचुल्का उठाउने क्रममा त्यहाँ युवतीको वयान पनि लिएको थियो ।

होटलबाट निस्कने क्रममा प्रहरी टोलीले महेन्द्र शालिक चोक छेउमा एक युवकलाई भेट्टायो, जसलाई अघिल्लो दिन शैलेशले ‘भाइ’ भनेर लाजिम्पाटको रेष्टुरेन्टमा युवतीसँग चिनजान गराएका थिए । प्रहरीले ती युवकलाई पक्राउ गर्‍यो ।

प्रहरीको टोली दरबारमार्ग वृत्तमा फर्कंदासम्म त्यहाँ युवतीका ‘प्रेमी’ भनिएका शैलेश कार्की र युवतीका अभिभावकहरु आइपुगेका थिए ।

छानविन छाडेर बिहेको कुरा किन ?

  • सामुहिक बलात्कारको उजुरी दिएकी युवतीलाई साथैमा राखेर दुबै परिवारबीच शैलेश र युवतीको विवाह गरिदिने अनि निश्चित रकम दिने सहमति भयो । यस्तो मिलापत्र गराउने कार्यमा प्रहरी निरीक्षक लक्ष्मणसिंह ठकुरीले भूमिका खेले ।

एक प्रहरी अधिकारीले भने, ‘जबरजस्तीकरणीको केसलाई मिलापत्र गराउन सुरुमा त डीएसपी तिलक भारतीले मानेका थिएनन्, तर, ‘पछि अप्ठ्यारो त हुँदैन नि’ भन्दै मिलापत्र गराउन उनी पनि तयार भएको देखिन्छ ।’

प्रहरी कार्यालयमै आर्थिक लेनदेन र बिहेको कुरो छिनेपछि दुबै परिवार हिडेँ । रकम लिएको आरोपमा हाल छानविनमा तानिएका प्रहरी अधिकारीहरु पनि चुप लागेर बसे । दुई दिनसम्म घटना सेलायो ।

घटनालाई ‘थामथुम’ बनाउन मोटो रकमको चलखेल भएको आशंकामा प्रहरीमाथि पनि अहिले अनुसन्धान भइरहेको छ । इन्स्पेक्टर लक्ष्मण ठकुरी निलम्बनमा परेका छन् । सई चन्द्र भण्डारी पनि निलम्वनमा परेका छन् भने डीएसपी तिलक भारतीमाथि पनि अनुसन्धान भइरहेको छ ।

  • “यौनाङ्ग पहिल्यैदेखि नै ‘सेक्सुअल्ली एक्टिभू “– मेडिकल रिपोर्ट

बलात्कार वा जबरजस्तीकरणीको केसमा पीडितको गुप्ताङ्गको मेडिकल रिपोर्ट लिने गरिन्छ । सो रिपोर्टले अनुसन्धानमा सहयोग पुर्‍याउने गर्छ । तर, यो प्रकरणमा युवतीको मेडिकल रिपोर्टले प्रहरीलाई थप चुनौती दिएको छ ।

प्रहरीले युवतीको स्वास्थ्य परीक्षण पनि गराएको छ । तर, युवतीले राजीखुशीले यौनसम्बन्ध राखेको भनिरहेको अवस्थामा गुप्ताङ्गको परीक्षण बलात्कार ठम्याउन सकिने अवस्था नदेखिएको प्रहरी स्रोतको भनाइ छ ।

प्रहरीका अनुसार युवतीको यौनाङ्ग पहिल्यैदेखि नै ‘सेक्सुअल्ली एक्टिभ’ देखिएकाले बलात्कार भएको प्रमाण जुटाउन गाह्रो परेको प्रसुती गृहको मेडिकल रिपोर्टमा उल्लेख छ ।

युवतीले राजीखुशीमा यौन सम्बन्ध रहेको वयान दिएको स्थितिमा उनको मेडिकल रिपोर्टकै आधारमा बलात्कार भएको हो वा होइन भन्न सकिने अवस्था नरहेको र यसबारे थप अनुसन्धान गर्नुपर्ने प्रहरीको भनाइ छ ।

घटनापछि जघन्य पीडामा परेकी भनिएकी युवती आफैंले वयानमा बलात्कार हैन, राजीखुशी भएको घटना हो भन्नु आश्चर्यजनक परिघटना हो ।

यदि त्यो राजीखुशीको यौनजन्य घटना नै थियो भने युवतीले बलात्कारको उजुरी किन गरिन् ? अनि प्रहरीकै रोहबरमा मिलापत्र र बिहेको छिनोफानो किन भयो ? यो रहस्यमय घटना हो ।