नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई २१६ रनको लक्ष्य

१९ माघ २०७४, शुक्रबार ११:२२

माघ १९, काठमाडौं ।

वर्ल्ड क्रिकेट लिग डिभिजन टु को तयारीका क्रममा यूएईमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अन्तिम अभ्यास खेलमा २ सय १६ रनको लक्ष्य पाएको छ ।

यसअघिका दुवै अभ्यासमा टस जितेर पहिले व्याटिङ गरेको नेपाल आज भने लक्ष्य पछ्याउदै केहीबेरपछि क्रिजमा उत्रनेछ । आईसीसी एकेडेमी ओभल टु मा टस जितेर पहिले व्याटिङ गरेको यूएईले निर्धारित ओभरमा ९ विकेट गुमाएर २ सय १५ रन बनाएको हो ।

ललित भण्डारीले ओपनिङ लाईनअप ध्वस्त बनाएपछि यूएईको इनिङ्स संकटमा परेको थियो । १ सय २ रन जोड्दा ६ विकेट गुमाएको स्थिति सम्हाल्दै चिराग सुरी र अली मिर्जाले सातौं विकेटका लागि ९६ रनको साझेदारी गरेपछि यूएई सम्मानजनक योगफल तयार पार्न सफल भयो । सोमपाल कामीको बलमा बोल्ड आउट हुनु अघि सुरीले १ सय २ वलमा ८५ रन जोडे ।

मिर्जा ४२ रनमा नटआउट रहे भने अतिरुर रेहमानले ३३ रन बनाए । सोमपाल कामीले ३, ललित भण्डारीले २ विकेट लिदा पारस खड्का, बसन्त रेग्मी र सन्दिप लामिछानेको नाममा एकएक विकेट रह्यो । पहिलो अभ्यास खेलमा २५ रनको जित निकालेको नेपाल दोस्रोमा १ सय ९३ रनको फराकिलो अन्तरमा विजयी भएको थियो ।

डिभिजन टु का खेलहरु आगामी बिहीबारबाट नामिबियामा सुरु हुनेछन् । आफ्नो पहिलो खेलमा नेपालले सोहि दिन घरेलु टोलीसंग प्रतिस्पर्धा गर्नेछ ।