रुसी २८ खेलाडीमाथिको प्रतिबन्ध फुकुवा गर्ने अदालतको निर्णयप्रति असन्तुष्टी

१९ माघ २०७४, शुक्रबार १०:२०
माघ १९, काठमाडौं ।

खेलकुदको विवाद हेर्ने अन्तर्राष्ट्रिय अदालत कोर्ट अफ आर्बीटेशन फर स्पोर्ट्स (कास) ले रुसी खेलाडीहरुमाथिको प्रतिबन्ध फुकुवा गरेको प्रति अन्तराष्ट्रिय ओलम्पिक कमिटिका केही पदाधिकारीहरुले असन्तुष्टी जनाएका छन् ।

अदालतले डोपिङ प्रकरणमा दोषी भनिएका रुसका २८ खेलाडीहरु विरुद्धको प्रमाण पर्याप्त नभएको भन्दै अन्तराष्ट्रिय ओलम्पिक कमिटि आईओसीको निर्णय उल्टाईदिएको हो । यसैप्रति लक्षित गर्दै आईओसीका एक बेलायती सदस्य एडम पेन्गीलीले कासको निर्णय विश्व खेलकुदका लागि लाजमर्दो भएको प्रतिक्रिया दिएका हुन् ।

यो प्रकरणमा अन्तराष्ट्रिय अदालत सही निर्णय गर्नबाट चुकेको उनको आरोप छ । सन् २०१४ मा रुसको सोचीमा भएको शितकालिन ओलम्पिकमा रुसी खेलाडीहरुले राज्यदारा प्रायोजित डोपिङ लिएको भन्दै आईओसीले ४३ खेलाडीमाथि आजिवन प्रतिबन्ध लगाएको थियो । ती ४३ मध्येका २८ खेलाडीको प्रतिबन्ध अदालतले उल्टाएको हो ।