खुल्यो मुख्यमन्त्रीको कार्यालय, मन्त्रीको पर्खाइ

१८ माघ २०७४, बिहीबार ११:३४

माघ १८ , काठमाडौं ।

प्रदेश चारमा भने पहिलो बैठक अघि नै मुख्यमन्त्रीको कार्यालय स्थापना भएको छ ।

प्रदेश राजधानी पोखराको पार्दीस्थित निर्माणाधीन सीप विकास प्रशिक्षण केन्द्रको भवनमा बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अन्तरिक मामिला तथा कानुन मन्त्रालय स्थापना गरिएको हो । हिन्दु परम्पराअनुसार पुरोहितबाट पूजा तथा टिका ग्रहण गरेर मन्त्रालय सञ्चालनमा ल्याइएको हो ।

प्रदेशका प्रमुख सचिव तोकिएका क्षेत्रीय प्रशासक लक्ष्मणप्रसाद अर्यालले बिहीबार नै पद बहाली गरे । उनले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सञ्चालन तथा अन्य तयारी गर्नेछन् ।

मुख्यमन्त्री कार्यालयको सचिव लालमणी ओझाले पनि पदबहाली गरेका छन् । दुई वटा मन्त्रालय बिहीबारदेखि नै खुलेको र केही दिनमै आर्थिक मामिला तथा योजना मन्त्रालय सञ्चालनमा आउने प्रमुख सचिव अर्यालले जानकारी दिए ।


सीप विकासको भवनमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालय गरी तीन मन्त्रालय रहने छ ।बिहीबारै आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव फणीन्द्रमणि पोखरेलले पनि पदबहाली गरेका छन् ।

मन्त्रालयका लागि केन्द्र सरकारले २९ जना कर्मचारी खटाएको छ तर सबै कर्मचारी आइसकेका छैनन् । ‘अन्य कर्मचारी आएसँगै तीव्र रुपमा काम सुरु हुनेछ,’ सचिव पोखरेलले भने, ‘यो मन्त्रालयले मात्रै ४१ वटा कानुन निर्माण गर्नुपर्नेछ ।’

सहकारी डिभिजन कार्यालयमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय राख्ने तय भएको छ । क्षेत्रीय शिक्षा निर्देशनालयमा सामाजिक विकास मन्त्रालय र मुख्यमन्त्रीको कार्यालय नजिकै निर्माणधीन क्षेत्रीय वन कार्यालयको भवनमा उद्योग पर्यटन, वन वातावरण मन्त्रालय राख्ने गरी तयारी भइरहेको छ । प्रदेश प्रमुखको नेतृत्वमा यी मन्त्रालय रहने भवनको निरीक्षण तथा मन्त्री आउनसाथ पदभार सम्हाल्ने पाउने गरी तयारी भइरहेको छ ।

मुख्यमन्त्रीको कार्यालयमा २१ जना, आन्तरिक मामिलामा २३ जना, आर्थिक, योजनामा १८ जना, भौतिक पूर्वाधारमा २४ जना, भूमि, कृषि तथा सहकारीमा २९ जना, उद्योग, पर्यटनमा २९ जना, सामाजिक विकासमा ३० जना कर्मचारी सरकारले खटाएको छ ।