रियल मड्रिडलाई रोक्न कठिन

१८ माघ २०७४, बिहीबार ०८:२६

माघ १८ , काठमाडौं ।

रियल मड्रिड र पेरिस सेन्ट जर्मन दुवैलाई प्रशिक्षण गरेका कार्लो एन्सेलोट्टीले मड्रिडलाई अझै कम आँक्न नहुने बताएका छन् ।

उनको विश्वास छ, लस ब्लान्कोसले यदि पारिसियन्सलाई हराएको खण्डमा उनीहरुलाई रोक्न मुस्किल हुनेछ ।


इटालियन प्रशिक्षक एन्सेलोटीको भनाइमा कोपा डेल रेबाट आउट भएको र ला लीगामा बार्सिलोनाभन्दा १९ अंकले पछाडि रहेको मड्रिडले अब आफूलाई पूर्णरुपमा च्याम्पियन्स लिगमा केन्द्रित गर्नेछ

‘भ्यालेन्सियाविरुद्धको म्याचमा मड्रिडले राम्रो जवाफ दियो,’ एन्सेलोट्टीले भने, ‘मलाई लाग्दैन कि उनीहरु संकटमा छन् ।’

‘अब रियल मड्रिडले जित्न सक्ने एक मात्र प्रतियोगिता भनेको च्याम्पियन्स लिग हो, त्यसैले उनीहरु त्यसैमा आफ्नो सम्पूर्ण शक्ति लगाउने छन्,’ उनले थपे ।

च्याम्पियन्स लिगमा जिदानेले के गर्छन् भन्नेमा अरु सबै सतर्क हुनुपर्ने उनको भनाइ छ ।

एन्सेलोट्टी भन्छन्, ‘यदि उनीहरुले इमरी (पीसीजी) लाई परास्त गरे भने उनीहरुलाई रोक्न कठिन हुनेछ । किनकी उनीहरुको टिममा एक यस्ता खेलाडी छन्, जो कहिल्यै हार्न रुचाउँदैनन्, क्रिस्टियानो रोनाल्डो ।

मड्रिड र पीसीजीबीचको म्याच तीव्र प्रतिस्पर्धात्मक हुने उनको अनुमान छ ।

‘च्याम्पियन्स लिग जित्नका लागि पीसीजसँग सबै चिज छ । उनीहरुसँग नेइमार र एम्बाप्पे छन् । गत वर्षभन्दा उनीहरु बढि अनुभवी र खारिएका छन् । उनी बढि परिपक्व र खतरनाक छन्,’ एन्सेलोट्टले भने ।

विश्वकप छनौटबाट इटली बाहिरिएपछि धेरै फ्यानहरुले राष्ट्रिय टिमको प्रशिक्षकमा एन्सेलोट्टीलाई हेर्न चाहेका छन् तर , उनी भने क्लब नै ताकिरहेका छन् । ‘पहिले इटालियन फुटबल एसोसिएसनका समस्याहरु उनीहरुले समाधान गर्नुपर्छ,’ उनले भने, ‘अहिले चाहिँ म क्लबमै फर्किन चाहन्छु ।’