चिसोका कारण जुम्लाको जनजिवन प्रभावित

२६ पुष २०७४, बुधबार ०८:१४

देवी कृष्ण अधिकारी
पुस २६, जुम्ला ।

हिमाली जिल्ला जुम्लामा चिसोका कारण जनजिवन प्रभावित बन्दै गएको छ ।

खलंगा बजार लगाएत उच्च हिमाली क्षेत्रको तापक्रम माइनस ८ डिग्री सेल्सियस पुगे संगै जनजिवन कष्टकर बनेको हो ।  चिसो बढ्दै गएपछि श्वासप्रश्वासमा समस्या हुने, रुघाखोकी लाग्ने, अक्सिनजनको कमी हुने, दम बढ्ने जस्ता समस्या देखिने र घर्यासी कामकाज गर्न समस्या हुने गरेको स्थानिय बासीहरु बताउछन् ।

चिसोका कारण खानेपानीको पाईप फुटेर धारामा पानी बन्द हुने गरेको छ भने बाटोमा समेत बरफ जम्ने गरेको छ । बजार क्षेत्रका मानिसहरू समूहसमूहमा आगो तापेर बस्ने गरेका छन् । जाडोबाट बच्न स्थानीय आगोकै भर पर्ने गरेका छन् ।

चिसो बढेपछि विधार्थीको पठनपाठनमा समेत समस्या हुने गरेको छ । एकाबिहानै ट्युसन पढ्न जाँदा चिसोको कारण लेख्न समस्या हुने गरेको बिधार्थीहरु बताउछन् । अन्य समयमा ग्यास चुलोमा खाना बनाउने भएपनी हिउँदमा चिसोका कारण सिलिन्डरमा ग्यास नै जम्ने भएपछि स्थानियबासीले दाउराको प्रयोग गर्ने गरेका छन् ।

चिसो बढ्दै गएपछि जुम्लामा चल्ने सवारीसाधनलाई समेत आगोले तताउनुपर्ने समस्या रहेको छ । गाडीमा राखिएको तेलसमेत जम्ने भएकाले बिहान गाडी चलाउनुअघि १० देखि १५ मिनेटसम्म गाडीको मुनि आगो बाल्नुपर्ने बाध्यता रहेका छ ।