![](http://aayokhabar.com/wp-content/uploads/2018/01/25564950_759991467530652_1478769889_n.jpg)
शीतल थोकर तामाङ (रामेछाप)
यौवनको भारी बोकेर उकालिदै गर्दा,
बाटोमा भेटिने बटुवाले
फिस्स हाँसि दियो भने
सम्झनु कि उ काँडा हो भनेर ।
केहि थान मुस्कानलाइ बिसाएर
बूढो पिपलबोटमा अडेस लागेर
थकान मेट्दै गर्दा
खुब चलाख हुनु तिमी
कसैले बजाएको बासुरिको धुनमा निदाइ हाल्यो भने
लुटिन सक्छ तिम्रो सपना ।
कतै नअडिनु कतै नअल्झिनु
आँखा नजुधाउनु जंगली कस्तुरिसंग
पराइ पराइ नै हुन
नछुनु बिसालु पुतलीहरुलार्इ
फूलहरु पनि नक्कली हुन सक्छ ।
हुर्काउन सक्दैनौ भने
छोपिदिनु असिमित चाहानाहरुलार्इ
गणितको हिसाब झै मिलाउदै नमिलाउनु
दुर–दुरका सपनाहरु
बरु छाडी दिनु तिनीहरुलार्इ,
अङ्ग्रेजीमा लेखिएको मिल्दै नमिलेको निवेदन झै ।
आफ्नो सौन्दर्यता लुकाउनु
बम र बारुद्द जस्तै कडा आवाजमा
घर लिपे झै
पार्दै नपार्नु बैँसलार्इ चिटिक
बरु तिखार्नु आफुलार्र्र्इ
युद्धमा होमिन तयार सिपाहीलाई झै
तब मात्र तिमी सुरक्षीत हुने छौ।
म बाटो भुलेर
कतै अल्झी रहेको एक यात्री
यस्तो आभास हुन्छ
जस्तो कि आफ्नै अनुहार ऐनामा पराइ देखे झै
जस्तै कि आफ्नै पैतालाको डोबले लखेटी रहेछौ।
सब थोक भएर पनि
रित्तो–रित्तो भएको एक भण्डार
भाउ बढेर पनि
शून्य–शून्यमा तौलिएको तौल
सबै भएर पनि
कोहि नभएको,
पराइको भएको एक चेली
अनेक भन्न मन लागेर पनि
केही बोल्न नसक्ने एक सजिव लास
र पनि तिम्रो सावधानीको लागि
तिमिलाइ बचाउन
फेरि एक पटक मोल तौलिएर
यो सन्देश पठाकी छु।
तिमिलार्इ सम्झिरहँदा म
सयौ इच्छाहरुको पोकोलार्इ
मधुरो कोठिको भित्ताभरी टासेर
आखे झ्यालबाट खोजी रहेछु
अस्त ब्यस्त मुम्बाइ शहरको गल्लिहरुमा
बिलाएको आफ्नै जीवन ।
होसियार रहनु तिमी,
सुनेको छु एक हुल बटुवाहरु
गाउँ पसेकाछन् रे फेरि ।
बटुवाहरु व्यापारी हुन
उनीहरु मुस्कान लिएर आउछन
अनि जिन्दगी लगेर जान्छ्न ।
–सहकार्य मासिक पत्रिका