मंगलबार देशभरिका निजी विद्यालय बन्द हुने

२३ पुष २०७४, आईतवार १६:०५

पुस २३, काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) नेपालले आगामी मंगलबार देशभरिका निजी विद्यालय बन्द गर्ने भएको छ ।

प्याव्सनका पूर्वअध्यक्ष डा. बाबुराम पोखरेलेको निधनमा प्याब्सनको आज बसेको आकस्मिक बैठकले देशभरिका निजी विद्यालय बन्द गर्ने निर्णय गरेको प्याब्सनका महासचिव राजेन्द्र बानियाँले जानकारी दिए ।  प्याब्सनका पूर्वअध्यक्ष पोखरेलेको आज बिहान नर्भिक अस्पतालमा निधन भएको थियो ।   यसैगरी बैठकले आगामी मंगलबार, बुधबार र बिहीबार तीन दिनसम्म प्याब्सनका झण्डा झुकाउनेसमेत निर्णय गरेको उनले बताए। पोखरेलको निधनप्रति दुःख व्यक्त गर्दै प्याब्सनले यही पुस २९ गतेसम्म कुनै पनि औपचारिक कार्यक्रम नगर्नेसमेत निर्णय गरेको छ ।

 

उनी मुटु रोगबाट पीडित थिए । प्याब्सनका सल्लाहकारसमेत रहनुभएका ६७ वर्षीय डा. पोखरेलको मंगलबार नै दाहसंस्कार गरिने भएको महासचिव बानियाँले बताए । विनायकसुधा (भिएस) निकेतनका संस्थापक प्रधानाध्यापक समेत रहेका थिए ।  विसं २०७० को दोस्रो संविधानसभा निर्वाचनमा उनी तत्कालीन मधेशी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) बाट समानुपातिक सभासद् रहेका थिए । (रासस)