काठमाडौंमा अत्याधिक चिसो, जनजीवन कष्टकर बन्दै

२३ पुष २०७४, आईतवार ०९:२४

मन्जिल कन्दङ्वा
पुस २३, काठमाडौं ।
पुस महिनाको मध्य नाघेसँगै काठमाडौंको तापक्रम घट्दो छ ।

तराई क्षेत्रमा बाक्लो हुस्सुले जनजीवन प्रभावित बनेको छ । विभिन्न ठाउँमा सेनाले गरिब समुदायहरुलाई राहात स्वरुप दाउँरा, चिया आदि बाँडेको पत्रपत्रिकामा मानिसहरुले पढेका छन् । काठमाडौंमा पनि चिसो बढेकै कारण सडकमा सवारी–साधनको चापमा कमी हुन थालेको छ ।

केही दिनदेखि काठमाडौंमा जाडो असाध्यै बढेको छ । आज काठमाडौंको न्यूनतम तापक्रम शून्य डिग्रीमा झरेको छ । काठमाडौं उपत्यकाको तापक्रम घटेसँगै आज यस वर्षकै बढी चिसो महसुस गरिएको छ ।

काठमाडौंमा चिसो बढेसँगै जनजीवन पनि प्रभावित बन्दै गएको छ, चाहे भुराभुरीलाई होस् या बुढाबुढी । साँझपख उपत्यकाको किराना पसलेहरुदेखि फुटपाथका व्यापारीहरु चाँडै नै व्यापार व्यवसाय बन्द गर्ने गरेका छन् । जाडोेले मानिस मात्र नभएर जनावर र पशुपन्छी समेत प्रभावित बनेका छन् ।


उपत्यकासहित देशभर चिसो बढेको छ । काठमाडौँको आजको न्यूनतम तापक्रम ० र बिहान ११ बजेको तापक्रम १४ डिग्री सेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसअघि पुुस २० देखि २२ गतेसम्म निरन्तर काठमाडौँको तापक्रम १ डिग्रीको हाराहारीमा पुगेको थियो । सेतो तुसारो छ्यापै देख्न सकिन्छ । उपत्यकाका मुख्य सहर, बस्तीहरुमा घरबारविहिन मानिसहरु ओत लाग्न मिल्ने सडक–पेटिमा सुत्न बाध्य छन् ।


उपत्यकाको तापक्रम अझै एक दुई दिन स्थिर रहने मौसमविदले जानकारी दिईन् । आज पनि तराई क्षेत्रमा बाक्लो हुस्सु लागेको छ । चिसो अझै बढ्ने अनुमान गरिएको छ ।
सबैभन्दा कम जुम्लामा आज ऋणात्मक ८ दशमलव ७ तथा सबैभन्दा बढी विराटनगर र नेपालगञ्जमा ८–८ डिग्री सेल्सियस छ ।

तस्बिर – मन्जिल कन्दङ्वा