माघ २४ मा राष्ट्रियसभाको निर्वाचन गर्ने सरकारको निर्णय

२१ पुष २०७४, शुक्रबार १६:१६

पुस २१, काठमाडौं। सरकारले राष्ट्रियसभाको निर्वाचन माघ २४ गते गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रयसभाको निर्वाचन माघ २४ गते गर्ने निर्णय गरेको हो।

 

राष्ट्रियसभा निर्वाचनका लागि भन्दै आयोगले पुस १३ गते १५ दिनभित्र दल दर्ता गर्न भन्दै सार्वजनिक सूचना निकालेको थियो । राष्ट्रिय सभा सदस्य निर्वाचन सम्बन्धी अध्यादेश पारित भइसकेको छ ।

अध्यादेशको व्यवस्था अनुसार अब एकल संक्रमणीय मत प्रणालीका आधारमा ५६ जना सदस्य निर्वाचित हुने छन् । एक महिलासहित ३ जना भने राष्ट्रपतिले नियुक्त गर्ने प्रावधान छ । राष्ट्रियसभा निर्वाचन नभएसम्म प्रतिनिधिसभा निर्वाचनको समानुपातिकतर्फको औपचारिक सिट निर्धारण रोकिएको छ । प्रतिनिधिसभाको पूरै नतिजा नआएसम्म प्रतिनिधिसभाले पूर्णता नपाउने र नयाँ सरकार गठन नहुने बताइँदै छ ।