बाजुराका स्वास्थ्य संस्थाहरु अन्योलमा, निःशुल्क औषधीहरु स्थानीय तहले खरिद गर्न सकेन्

२१ पुष २०७४, शुक्रबार ११:१७

मदन बि.क.
पौष २१, बाजुरा ।
बाजुरा जिल्लाका स्वास्थ्य संस्थाहरु अन्यौलमा रहेका छन् । स्थानीय तहले अधिकार पाएको लामो समय वितिसक्दा पनि नेपाल सरकारले तोकेका ८० प्रकारका निःशुल्क औषधीहरु स्थानीय तहले अहिलेसम्म पनि खरिद गर्न सकेको छैन् ।


तत्कालिन अवस्थामा स्वास्थ्य संस्थाहरुलाई औषधि खरिद गर्नका लागि स्थानीय तहरुले पैशा पनि दिएका छैनन् । अहिले औसधिको चरम अभाव भएको छ । सामान्य सिटामोल समेत स्वास्थ्य संस्थामा उपलव्ध छैन् । बडिमालिका नगरपालिकाको साविकको बुढीगंगा स्वास्थ्य चौकीमा पनि आबश्यक औसधीको अभाव रहेको छ । अहिले यस संस्थामा स्वास्थ्य चौकी कोषबाट औसधी खरिद गर्नुपर्ने बाध्यता रहेको छ । स्थानीय तह हुनुभन्दा पहिले औसधी समयमै आउने गरेको थियो । काम गर्न सहजता थियो अहिले अन्योल भएको छ बुढीगंगा स्वास्थ्य चौकी ईन्चार्ज ललिता रोकायाले गुनासो गरिन् ।

तिनै चरणका निर्वाचन पश्चात नेपाल सरकार स्वास्थ्य मन्त्रालयको निर्देशनमा बाजुरा जिल्लाका सवै स्वास्थ्य संस्थाहरु स्थानीय तहमा हस्तान्त्रण भईसकेका छन् । स्थानीय तहमा हस्तान्त्रण भईसकेपछि सम्वन्धित स्थानीय तहमा रहेका स्वास्थ्य संस्थामा स्थानीय तहले स्वास्थ्य संस्थाहरुको रेखदेख गर्नुपर्ने हो । स्थानीय तहमा स्वास्थ्य चौकी हस्तान्त्रण भएपनि जिल्ला स्वास्थ्य कार्यालय जवसम्म रहन्छ तवसम्म आफ्नो जिम्मेवारी निभाउने र तत्काल स्वास्थ्य संस्थाहरुमा समस्या आएपछि आफ्नो कर्तव्य अनुसार सहयोग गरिरहने कार्यालय प्रमुख डाक्टर रुपचन्द्र विश्वकर्माले बताउनु भयो ।

जिल्ला स्वास्थ्य कार्यालयको जिम्मेवारी अनुसार स्थानीय तहमा स्वास्थ्य चौकी हस्तान्त्रण भईसकेपछि सम्वन्धित नगरपालिका र गाउँपालिकाले जिम्मेवारी लिन जरुरी रहेको छ । स्थानीय तहलाई स्वास्थ्य संस्था संचालन गर्न र क्षमता अभिवृद्धिकरण गर्नका लागि जिल्ला स्वास्थ्य कार्यालयको भुमिका रहने जिल्ला स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । नेपाल सरकारले पनि स्वास्थ्य संस्थाहरुमा जिल्ला स्वास्थ्य कार्यालयको कुन कुन जिम्मेवारी र स्थानीय तहको कुन जिम्मेवारी हो यसबारेमा प्रष्ट पारिदिएमा स्वास्थ्यकर्मीहरुलाई काम गर्न सजिलो हुने जनस्वास्थ्य अधिकृत रमेश कुंवरले बताए । जिल्लामा ४ नगरपालिका र ५ गाउँपालिका गरि ९ वटा स्थानीय तह रहेका छन् । जिल्लामा एक स्वास्थ्य कार्यलय, एक प्राथमिक स्वास्थ्य केन्द्र र २६ स्वास्थ्य संस्था रहेका छन् । यी स्वास्थ्य संस्थाको पहुँच भन्दा बाहिर रहेका गाँउमा सामुदायिक स्वास्थ्य ईकाइ केन्द्र समेत स्थापना भएका छन् ।