पुस २१, राजविराज ।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकार गठनमा भएको ढिलाइमा तीनै ठूला दलले जबर्जस्ती लागू गरेको संविधान नै बाधक बनेको बताएका छन् ।
![](http://aayokhabar.com/wp-content/uploads/2017/11/yadhav-g-1.jpg)
सप्तरीको राजविराजमा शुक्रबार बिहान कार्यकर्तासँगको भेटका क्रममा उनले अन्य धेरै ठाउँमा संवैधानिक जटिलता रहेकाले संविधान संशोधन गरेमात्रै मुलुकले निकास पाउन सक्ने बताए । आफूहरुले बारम्बार संविधान त्रुटिपूर्ण रहेको बताउँदै आए पनि बलजफ्ती जारी गरेको कारण समस्या आएको समेत अध्यक्ष यादवले आरोप लगाए । संविधानमा रहेको त्रुटिपूर्ण व्यवस्थाकै कारण निर्वाचन परिणाम आइसक्दा पनि सरकार गठनमा ढिलाइ भएको समेत उनले टिप्पणी गरे ।
सरकार गठनमा देखिएको संवैधानिक अड्चनपछि जबर्जस्ती संविधान जारी गर्ने तिनै दलका नेताहरुले संविधानमा त्रुटि रहेको कुरा स्वीकार गरिरहेको उनको भनाइ थियो । उनले मुलुकमा राजनीतिक स्थिरताका लागि सबै दल मिलेर संविधान संशोधन गर्नु नै एकमात्र विकल्प भएको जिकिर गरे । प्रदेश २ का जनताले पनि संविधानमा त्रुटि रहेको कुरा निर्वाचनमार्फत व्यक्त गरिसकेकाले संशोधन अपहरिहार्य छ,’ अध्यक्ष यादवले भने । सप्तरी क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यसमेत रहेका यादवले सप्तरी जिल्लाको विकास हुन नसक्नुको मुख्य कारण विगतका सरकार भएको समेत आरोप लगाएको राससले समाचार लेखेको छ ।