वाम गठबन्धन मौन गृहकार्यमा जुट्यो

२१ पुष २०७४, शुक्रबार ०४:०६

पुस २१, काठमाडौं । सरकारले प्रदेशको अस्थायी राजधानी, प्रदेश प्रमुख र राष्ट्रिय सभाको निर्वाचन मिति तोक्ने गृहकार्य अघि बढाएको छ ।

एकदुई दिन भित्रै प्रदेश मुकाम र प्रमुख तोक्ने गरी सरकारले गृहकार्य अघि बढाएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाले मुकाम र प्रमुख तोक्ने विषयमा राजनीतिक सहमति जुटाउन बिहीबार सर्वदलीय बैठक आह्वान गरेका थिए । सर्वदलीय बैठकमा वाम गठबन्धनका नेताले मौन सहमति जनाएपछि सरकारले प्रदेश प्रमुख र मुकाम तोक्न आवश्यक तयारी अघि बढाएको हो ।  नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पुष्पकमल दाहाल नेतृत्वको सरकारका पालामा बनेको समितिको प्रतिवेदन अध्ययन गरेर प्रदेश प्रमुख तोक्न सहमति दिएको बताए । उनका अनुसार एकदुई दिनभित्रै प्रदेश मुकाम तथा प्रदेश प्रमुख तोकिनेछ । सरकारले राष्ट्रिय सभा निर्वाचनको मिति निर्वाचन आयोगसँगको सल्लाहमा चाँडै तोकिने जनाएको छ । निर्वाचन आयोगले यसअघि २५ माघमा राष्ट्रिय सभाको निर्वाचन मिति तोक्न सरकारलाई सिफारिस गरिसकेको छ । तर वाम गठबन्धनले भने २५ माघ अगावै निर्वाचन हुनु पर्ने बैठकमा अडान राखेको छ ।

वाम गठबन्धनका नेताले मुकाम र प्रमुखको विषयमा सुझाव नै नदिई सरकारले गर्नुपर्ने काम चाँडो गरेर सत्ता हस्तान्तरणको वातावरण बनाउन दबाब दिएका थिए । एमाले उपाध्यक्ष भीम रावलले प्रदेश प्रमुख र राजधानी तोक्ने विषयमा आफूहरूले कुनै सुझाव नदिएको बताए । ‘हामीले पहिले नै पटक पटक यो प्रक्रिया अघि बढाउनु भन्यौं । समयमा उहाँहरूले सुन्नु भएन,’ उनले भने, ‘अहिले हामी सल्लाह दिने अवस्थामा छैनौं । नयाँ सरकारका लागि जेजे अड्काएर राखिएको छ, नअड्काओस् भनेका छौं ।’ माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले वाम गठबन्धनले प्रदेश प्रमुख र प्रदेश मुकामको विषयमा विस्तृतमा प्रवेश गर्न नचाहेको बताउँदै सरकारले चाँडो सत्ता हस्तान्तरणको वातावरण बनाउनु पर्ने बताए ।
–राजधानी दैनिक