इन्धन मूल्य वृद्धिप्रति नेविसंघको आपत्ति

२० पुष २०७४, बिहीबार ०६:३०

पुस २०, काठमाडौं । नेपाल विद्यार्थी संघका सभापति नैनसिंह महरले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर्न सरकारसँग माग गरेका छन् । बुधबार काठमाडौंमा आयोजित एक सक्षात्कारमा बोल्दै सभापति महरले १५ दिनमा दुइपटक पेट्रोलियम पदार्थको मूल्य बढाउने कार्य गलत भएको भन्दै बढाइएको मूल्यवृद्धि फिर्ता गर्न माग गरेका हुन् । ‘सरकारले अन्र्तराष्ट्रिय स्तरमा बढेको मूल्यवृद्धिका आधारमा बढाएको हो, या अरु कुनै कारण छ, खास कुरा बाहिर आएको छैन,’ उनले भने । महरले मूल्यवृद्धिको विरोधमा उत्रिएका अनेरास्ववियुका नेता कार्यकर्तामाथी प्रशासनले धरपकड गरेको प्रति पनि असन्तुष्टि जनाए ।

उनले भने, ‘अनेरास्वियुका नेता–कार्यकर्तामाथिको प्रहरी हस्तक्षेपप्रति घोर भत्र्सना गर्दछु ।’ उनले प्रधानमन्त्री शेरबहादुर देउबाको बचाउ गर्दै संविधानअनुसार जिम्मेवारी पूरा गरेर प्रधानमन्त्रीले राजीनामा दिने बताए । ‘अन्य विद्यार्थी संगठनका साथीहरु सरकारको राजीनामा मागिरहनुभएको छ, हामी संविधानअनुरुप काम गर्नुपर्छ भनिरहेका छौं,’ उनले भने ‘दुई महिनापछि आफ्नै सरकार बन्नेमा ध्यान राख्न आग्रह गर्छु ।’ जनताले दिएको जनमतले ओली मात्रैलाई प्रधानमन्त्री हुनुपर्छ भनी नभनेको उनको दाबी थियो ।

साक्षात्मकारमा अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नलिएसम्म आन्दोलन जारी राख्ने स्पष्ट पारेका छन् । अध्यक्ष तामाङले निर्वाचन आयोगलाई तत्काल मत परिणाम सार्वजनिक गर्न पनि माग गरेका छन् । त्यस्तै, अनेरास्ववियु उपाध्यक्ष सुनिता बरालले जनताबाट बर्खास्त भइसकेको सरकारले तत्काल राजीनामा दिनुपर्ने बताइन् । मूल्यवृद्धिको निर्णय फिर्ता नलिएसम्म आन्दोलन जारी रहने उनको भनाई थियो ।

राजपा विद्यार्थीसंगठनका अध्यक्ष मनिष मिश्रले अन्य दलनिकट विद्यार्थी संगठनको विरोधको शैलीप्रति असहमति जनाउँदै इन्धनको मूल्य बढाइएकोमा आपत्ति जनाए । पुरानै मूल्य कायम गर्न मिश्रले सरकारसंग माग गरे । अन्य विद्यार्थी संगठन दलीय स्वार्थका लागि मात्रै विरोध र आन्दोलनमा आफ्नै संगठन आबद्ध नभएको उनले स्पष्ट पारे निर्वाचन आयोगले मतपरिणाम सार्वजनिक गर्न ढिला गरेको भन्ने विषय विधि र नियमअन्र्तगत पर्ने भएकाले आफूहरुले विरोध नगर्ने बताए । समाजवादी विद्यार्थी फोरमका अध्यक्ष विवेक राइले पनि अखिल र अनेरास्ववियुले पार्टीको इसारामा आन्दोलन गरेको आरोप लगाउँदै आफूहरुको सहभागिता नरहने  बताए । जनसरोकार र विद्यार्थीका पक्षमा आफ्नो संगठन रहेको स्पष्ट पार्दै राईले कालोबजारी र मूल्यवृद्धिको विरोधमा सधै उभिने उललेख गरे । –राजधानी दैनिक