सहमति खोज्दै प्रधानमन्त्री देउवा, बालुवाटारमा सर्वदलीय बैठक जारी

२० पुष २०७४, बिहीबार ०५:०८

पुस २०, काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश प्रमुख नियुक्ति र प्रदेशको अस्थायी राजधानी तोक्ने विषयमा सहमति खोज्न आज संसद्‌मा प्रतिनिधित्व गर्ने ५ दलको बैठक बोलाएका छन्। ९ बजे बालुवाटारमा जारी बैठकमा कांग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी राजपा र संघीय समाजवादी फोरम नेपालका शीर्ष नेता सहभागी छन्।


बैठकमा सहमति जुटेलगत्तै बस्ने मन्त्रिपरिषद् बैठकबाट राष्ट्रियसभाको निर्वाचन मिति तोक्नेसहित प्रदेश प्रमुख नियुक्ति र प्रदेशको अस्थायी राजधानी तोक्ने काम एकैसाथ गर्ने तयारीमा सरकार छ। निर्वाचनलगत्तै प्रदेश प्रमुख तोक्ने तयारीमा जुटेको सरकार वाम गठबन्धनका नेताहरूको विरोधपछि पछि हटेको थियो। एमाले र माओवादी केन्द्रका नेताहरूले जनादेशअनुसार नयाँ सरकारले प्रदेश प्रमुख तोक्ने भन्दै सरकारले ‘जबर्जस्त’गरे आफ्ना सांसदहरूले शपथ नलिने चेतावनी दिँदै आएका थिए। कानुनी रूपमै प्रदेश प्रमुख तोक्नुपर्ने बाध्यता आएपछि सरकारले सहमति प्रयास थालेको हो।

कानुनअनुसार निर्वाचन परिणाम क्रमशः प्रदेशको प्रदेश प्रमुख र प्रतिनिधिसभाको राष्ट्रपतिलाई बुझाउनुपर्छ। निर्वाचन आयोगले प्रदेश प्रमुख तोक्न ताकेता गर्दै आए पनि प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक सहमति खोज्न मंगलबारबाटै राजनीतिक परामर्श गरेका हुन्। उनले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग छलफल गरिसकेका छन्। ‘सर्वदलीय बैठकमा सहमति जुटे त्यहीअनुसार, नजुटे स्वतन्त्र र सामाजिक रूपमा प्रतिष्ठित व्यक्तिलाई प्रदेश प्रमुख नियुक्त गर्ने तयारी प्रधानमन्त्रीले थाल्नुभएको छ,’ बालुवाटार स्रोतले भन्यो।