राष्ट्रियसभा सदस्य निर्वाचन माघ २५ मा गर्ने तयारी

१९ पुष २०७४, बुधबार ०२:२१

पुस १९, काठमाडौं । राष्ट्रिय सभाको निर्वाचन अगामी माघ २५ गते गर्न निर्वाचन आयोगले सरकारलाई प्रस्ताव गरेको छ । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर निर्वाचनको मिति प्रस्ताव गरेका हुन् ।

प्रधानमन्त्री देउवाले आयोगको प्रस्ताव अनुसार नै माघ २५ गते राष्ट्रिय सभाको मिति तोक्ने जानकारी प्रमुख आयुक्त यादवलाई गराएको आयोग पदाधिकारीले बताएका छन् ।  ‘तयारी लगायतका सबै प्रक्रिया पूरा गरी निर्वाचन गराउन ४० दिन जति लाग्ने भएकाले आयोगले त्यही अनुरुप समय प्रस्ताव गरेको हो’, आयोगका सह सचिव दिनेश घिमिरेले भने, ‘प्रधानमन्त्री ज्यूले आगामी मन्त्रिपरिषद्को बैठकबाट माघ २५ गते बिहीबार राष्ट्रिय सभा सदस्यको निर्वाचनको मिति घोषणा गर्ने जानकारी दिएका छन् ।’

निर्वाचन आयोग ऐन ०७३ अनुसार संघीय कानुनमा व्यवस्था भएकोमा बाहेक सरकारले निर्वाचनको मिति तोक्ने तर त्यस्तो निर्वाचनको मिति तोक्नु भन्दा अघि सरकारले आयोगको परामर्श लिनु पर्ने स्पष्ट व्यवस्था भए अनुरूप आयोगले निर्वाचनको मिति सरकारलाई प्रस्ताव गरेको थियो।