चार नेताका भरमा तरुण दल

१८ पुष २०७४, मंगलवार ०५:२७

पुस १८, काठमाडौं । नेपाली काँग्रेसका भातृ संगठन तरुण दलको कार्य समिति चयन हुन सकेको छैन । गत कात्तिकमा भएको महाधिवेशनमा शीर्ष नेताहरुको भागवण्डा गरी अध्यक्ष, उपाध्यक्ष, महासचिव र कोषध्यक्ष चयन भएको घोषणा गरे पनि कार्य समितिका अन्य सदस्यहरु अहिलेसम्म चुनिएका छैनन् ।

कात्र्तिक २९ गते देखि पोखरामा भएको महाधिवेशनमा सहमतीमा नेतृत्व चयन नहुने पक्का भएपछि पार्टीक शीर्ष नेताहरुले दुई दिन लम्ब्याएर भए पनि आफू पक्षका नेताहरुलाई पदाधिकारीमा चयन गरेका थिए । महाधिवेशनमा अध्यक्षमा सभापति शेरबहादुर देउवा पक्षका जितजंग बस्नेत, उपाध्यक्षमा नेता कृष्णप्रसाद सिटौला पक्षका उत्तम चापागाईँ, महासचिवमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका भूपेन्द्रजंग रायमाझी र कोषाध्यक्षमा खुमबहादुर खड्का पक्षका नेता विद्वान गुरुङलाई चयन गर्ने भन्दै कार्यसमितिका बाँकी सदस्य पछि चयन गर्ने भन्दै महाधिवेशन सम्पन्न भएको बताएका छन् ।

नेपाल तरुण दललाई शीर्ष नेताहरुको भागवण्डाको अखडा बनाएपछि काँग्रेसको सशक्त भातृसंगठनका रुपमा रहे पनि यसले हालै सम्पनन निर्वाचनमा प्रभावकारी भूमिका समेत निभाउन सकेन । शीर्ष नेताहरुको भागबण्डामा तरुण दलका सदस्यसमेत नरहेका नेतालाई सर्वसम्मत नेतृत्व सुम्पिएपछि विवादित बनेको तरुण दलको कार्यसमितिले कहिले पूर्णता पाउँछ भन्ने जिज्ञाशामा अध्यक्ष बस्नेतले भने–‘यस विषयमा पछि कुरा गरौला ।’ महाधिवेशनमा शीर्ष नेताहरुले भागबण्डा गरी कार्यसमिति चार जनाई टीका लगाइदिएपछि नेतृत्वका दावी गर्दै चुनाव प्रचारप्रसार समेत गरेका अन्य आकांश्षीहरु हिस्स परेका थिए । –नेपाल समाचारपत्र