सरकार विरोधी प्रदर्शनकारीद्वारा प्रहरी चौकीमा आक्रमण

१८ पुष २०७४, मंगलवार ०३:४५

पुस १८, इरान । पाँच दिनयता जारी प्रदर्शनका क्रममा मध्य इरानमा सरकार विरोधी प्रदर्शनकारीले एउटा प्रहरी चौकीमा आक्रमण गरेको विवरणहरू आएका छन्।

सामाजिक सञ्जालमा राखिएका भिडिओमा प्रदर्शनकारीहरूले देशको मध्य भागमा अवस्थित कादेरीजानको प्रहरी चौकी कब्जामा लिने प्रयास गरिरहेको देखिन्छ।  यसअघि अधिकारीहरूले शिकारमा प्रयोग गरिने राइफलबाट गोली हानेर नजाफाबादमा एकजना प्रहरी अधिकृतको हत्या गरिएको बताएका थिए।  अहिलेसम्म कम्तीमा १३ जनाले ज्यान गुमाइसकेका छन्।   सरकार विरोधी नाराबाजी बाहेक कारहरू आगजनी गरिएको र मध्य इरानका अलग(अलग स्थानमा एउटा प्रहरी चौकीमा आक्रमण गरिएको र एक जना प्रहरी अधिकृतको हत्या गरिएको विवरण आएका छन्।

 

प्रहरी प्रवक्ताले एकजनाले शिकारमा प्रयोग गरिने राइफलले देशको मध्य भागमा अवस्थित नजाफाबादमा गोली चलाएको बताए।  रात परिरहँदा राजधानी तेहारान, केरमानसासहित अन्य शहरहरूमा पनि थप प्रदर्शनहरू भएका विवरण आएका छन्।  यसअघि राष्ट्रपति हसन रुहानीले प्रदर्शनहरू सामान्य भएको उल्लेख गर्दै त्यसबाट जोखिम नरहेको बताएका थिए।  कानून हातमा लिनेविरुद्ध कारबाही गर्ने चेतावनी दिएका उनले प्रदर्शनहरू कतिपय समस्या समाधान गर्ने अवसर भएको बताएका थिए।  उनले भने, ‘पछिल्ला दिनमा भइरहेका घटनाहरू सतहमा हेर्दा जोखिम जस्तो देखिए पनि हामीले त्यसलाई अवसरमा बदल्नुपर्छ। सडकमा ओर्लिएका सबैले अरु देशबाट आदेश लिएका छैनन्। केहीले त्यस्तो गरेको हुनसक्लान् तर कतिपयले आफ्ना भावना र समस्याका कारण आन्दोलनमा भाग लिइरहेका छन्।’

संयुक्त राज्य अमेरिकाले प्रदर्शनकारीहरूले सशक्त प्रतिरोध गरिरहेको भन्दै उनीहरूप्रति आफ्नो समर्थन रहेको जनाएको छ।  बिहीवार महँगी र भ्रष्टाचारको विरोधमा प्रदर्शन शुरु भएको थियो तर अहिले त्यो सरकार विरोधी प्रदर्शन बन्न पुगेको छ।