एमाले–माओवादीको एकतापछि सिद्धान्त, नेतृत्व र नाम परिवर्तन हुँदै

१८ पुष २०७४, मंगलवार ०३:३१

पुस १८, काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीच एकीकरण प्रक्रिया चलिरहँदा नाम, नेतृत्व, सिद्धान्त र सांगठनिक संरचना परिवर्तन हुने संकेत देखिएको छ । पार्टी एकीकरणपछि पुराना दुवै नाम परिवर्तन गरी ‘नेपाल कम्युनिस्ट पार्टी’ राख्ने देखि एमालेको सिद्धान्त ‘जनताको बहुदलीय जनवाद’ र माओवादीले अपनाउँदै आएको ‘माओवाद’ दुवै परिवर्तन गरी नयाँ सिद्धान्त बनाउने विषय सम्ममा छलफल सुरु भएको छ ।

 

एमाले उपमहासचिव घनश्याम भुसालले जनताको बहुदलीय जनवाद र माओवाद दुवैलाई तत्काल थाती राखेर नयाँ सैद्धान्तिक नीति बनाउनु पर्ने प्रस्ताव अघि सारिसकेका छन् । एमालेको ‘जबज’ ले अर्धसामन्ती र अर्धऔपनिवेशिक मुलुकमा शान्तिपूर्ण तथा लोकतान्त्रिक विधि सहित गरिने क्रान्ति र माओवादीको ‘माओवाद’ ले पनि अर्धसामन्ती–अर्धऔपनिवेशिक मुलुकमा गरिने सशस्त्र क्रान्तिको कल्पना गरेकाले यी दुवैको कार्यभार सम्पन्न भइसकेको उनको विश्लेषण छ ।

 

हाल मुलुक अर्धसामन्ती र अर्धऔपनिवेशिक अवस्थामा नभएको र जनवादी क्रान्ति चरण पूरा भएकाले अबको सिद्धान्त ‘राष्ट्रिय अर्थतन्त्रको विकास गर्दै समाजवादको यात्रा हुनुपर्ने भुृसालको नयाँ प्रस्ताव छ । यसमा नाराणकाजी श्रेष्ठलगायतका माओवादी नेताले पनि समर्थन जनाउन थालिसकेका छन् । ‘अब एमालेले जबज र माओवादीले माओवाद छाडेर पार्टी एकीकरणका लागि नयाँ सैद्धान्तिक बाटो तय गर्नुपर्छ’, श्रेष्ठले
नेपालको अध्ययन केन्द्रको कार्यक्रममा भने,–‘पुरानै सिद्धान्तमा अडान राखेर समाज बुझ्न पनि सकिन्न, पार्टी एकीकरण पनि हुन सक्दैन ।’
–नागरिक दैनिक