२५ कम्पनीका औषधि गुणस्तरहीन

१८ पुष २०७४, मंगलवार ०३:१३

पुस १८, काठमाडौं । नेपालमा २५ वटा औषधि उत्पादन कम्पनी मापदण्डविपरीत भइरहेको पाइएको छ । त्यस्ता कम्पनीलाई कानुनबमोजिम कारबाही गर्ने जिम्मेवारी पाएको औषधी व्यवस्था विभाग भने मुकदर्शक बनेको छ । विभागका अनुसार मुलुकमा भिन्न भिन्न प्रकारको औषधि उत्पादन गर्ने ५५ कम्पनी सञ्चालनमा छन् । यसका अतिरिक्त नौ वटा कम्पनी भौतिक पूर्वाधार निर्माणका चरणमा छन् । जसले विभागको सञ्चालनमा अनुमति पाइसकेका छैनन् ।

औषधि व्यवस्था विभागका अधिकारीहरुका अनुसार डब्लुएचओ जिएमपीका लागि अहिलेसम्म २५ स्वदेशी उत्पादकले आवेदन नै दिएका छैनन् । ‘तीमध्ये केहीले डब्लुएचओ जिएमपीको नवीकरण पनि गरेका छैनन्,’ विभागका डब्लुएचओ जिएमपी प्रमाणपत्र प्रमाणीकरण गर्ने वरिष्ठ अधिकारी सनतोष केसीले भने–‘केहीले मात्रै डब्लुएचओ जिएमपीका लागि आवेदन र्दिका छन् ।’ नेपालमा आयात गरिने औषधिका लागि डब्लुएचओ जिएमपी अनिवार्य गरिएको छ । ‘हामी स्वदेशी उत्पादनमा पनि जिएमपी कार्यान्वयनका लागि काम गरिरहेका छौं,’ केसीले भने, ‘जिएमपीका लागि निवेदन नदिने कम्पनीका उत्पादन रोक्छौं ।’

 

जिएमपीले बिक्रीवितरणका अनुमति प्राप्त गरेअनुसारको औषधी उत्पादनको गुणस्तर सुनिश्चित गराउँछ । जिएमपीले औषधी उत्पादनको प्रदूषित ÷सम्मिश्रण र गलत लेबलिङ हुने सम्भावना हटाउने उद्देश्य राखेको हुन्छ । साथै यसले औषधि उत्पादकहरुले पर्याप्त सुरक्षा, गुणस्तर वा प्रभावको कारण बिरामीलाई कुनै प्रकारका जोखिम पर्न दिँदैन ।   स्वास्थ्य क्षेत्रको सवोच्च अनुसन्धान संस्था नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले हालै सरकार तथा निजि क्षेत्रले आपूर्ति गर्दै आएको नौ वटा औषधि गुणस्तरहीन रहेको पाएको थियो । ती औषधि नेपालका सात वटा कम्पनीका उत्पादित थिए ।–नागरिक दैनिक