सडक दस्तुर अब दोब्बर

१७ पुष २०७४, सोमबार ०४:५०

पुस १७, काठमाडौं । सडक बोर्ड नेपालले सवारीसाधन चलाएबापत सवारीधनीले तिर्नुपर्ने सडक दस्तुर दोब्बरले वृद्धि गरेको छ । बोर्डले गरेको प्रस्ताव परिमार्जन गर्दै गत शुक्रवार अर्थ मन्त्रालयले सडक दस्तुर बढाउने बोर्डको प्रस्तावलाई स्वीकृती दिएको छ । अब भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले राजपत्रमा सूचना प्रशासन गरेसँगै बढेको शुलक बोर्डले उठाउने छ ।

बोर्डले सडकमा सवारीसाधन चलाएबापत तिनुपर्ने दस्तुरलाई करिब पाँच गुणासम्म बढाउने प्रस्ताव गरेको हो । बोर्डले अहिले विभिन्न चारवटा राजमार्गमा सवारीसाधन चलाएवापत लिने सडक दस्तुरबाट वार्षिक करिब १० करोड रुपैयाँ संकलन गर्दै आएको छ । अब उक्त रकम दोब्बर हुनेछ । सडक मर्मतमा आवश्यक रकम अपुग भएको भन्दै बोर्डले सडक दस्तुर बढाउने प्रस्ताव गरेको हो । २०५८ सालमा कायम गरिएको दस्तुर हालसम्म वृद्धि हुन सकेको थिएन । सडक बोर्डले गरेको प्रस्तावमा केही परिमार्जन गरि अर्थले शतप्रतिशत वृद्धिका लागि सहमति दिएको अर्थमन्त्रालयका राजस्वसचिव शिशिरकुमार ढुंगानाले जानकारी दिए ।

सडक मर्मतका लागि आवश्यक रकम सडकमा सवारी गुडाएबापत लिइने दस्तुर लामो समयदेखि बढ्न सकेकाले बढाउन प्रस्ताव गरिएको सडक बोर्ड नेपालका निर्देशक सागर ज्ञवालीले बताए । “हामीले २०५८ सालदेखि नै राष्ट्र बै.कको वार्षिक मुद्रस्फीतिलाई आधार मानेर ४ गुणासम्म दस्तुर बढाउन प्रस्ताव गरेका थियौं,” उनले भने “तर, अर्थ मन्त्रालयले शतप्रतिशत वृद्धि गर्ने गरि स्वीकृति दिएको राजस्व सचिवले सडक बोर्डको वार्षिक उत्सवमा मौखिक जानकारी गराएको हो। ”
बोर्डले हाल हेटौडा–नारायणगढ, नारायणगढ–बुटवल, नौबिसे–मुग्लिङ र भैरहवा–भूमही सडकखण्डमा मोटरसाइकलको पाँच रुपैयाँ सडक दस्तुर लिने गरेको छ । अव उक्त सडकमा मोटरसाइकल चलाएबापत रु १० रुपैयाँ तिर्नुपर्ने छ । अर्थले दिएको सहमति अनुसार अब ३० रुपैयाँ लिने ठाउँमा ६०, ४० रुपैयाँको ठाउँमा ८० रुपैयाँ तथा ३५ रुपैयाँको साटो ७० रुपैयाँ सडक उपभोक्त दस्तुर स.कलन केन्द्रबाट शुल्क उठाउने छ । सडक बोर्डले उठाउने शुल्क सबै ठाउँमा दोब्बर हुनेछ ।

बोर्डले उठाएको यस्तो शुल्क जुन सडकबाट संकलन हुने हो, सोही सडक मर्मतको खर्च गर्ने दाबी गर्दै आएको छ । बोर्डको मर्मतको दायित्व देशभरका राजमार्ग र बाह्रै महिना सवारी चल्ने स्थानीय सडक पनि हुन् । हाल बोर्डले समिति राजमार्ग मात्रै यस्तो शुल्क उठाएर सोही क्षेत्रको मर्मतमा खर्च गरेको ज्ञवालीले जानकारी दिए । –आर्थिक कारोबार