फागुनको पहिलो साता मात्रै नयाँ प्रधानमन्त्री

१७ पुष २०७४, सोमबार ०२:०७

पुस १७, काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फको अन्तिम नतिजा आएको तीन साता बित्न लागे पनि समानुपातिक तर्फको अन्तिम मतपरिणाम सार्वजनिक भएको छैन ।

अनेक कानूनी संरचनामा अल्झिएको मतपरिणामको पूर्वसर्त राष्ट्रियसभामा निर्वाचनलाई मानिए पनि निर्वाचनको मितिसमेत तोकिएको छैन । लामो विावादपछि बल्लतल्ल राष्ट्रियसभा सदस्य निर्वाचन अध्यादेश भने जारी भएको छ । अध्यादेश जारी भए पनि तत्काल निर्वाचन प्रक्रिया भने अगाडि बढ्ने छैन । निर्वाचन आयोगले पुस १३ गते १५ दिनको समय दिएर राष्ट्रिउ सभा निर्वाचनका लागि दल दर्ता आह्वान गरेको छ । दल दर्ता समयपछि मात्र निर्वाचन कार्यतालिका प्रकाशन हुनेछ ।

सरकारको तयारी र निर्वाचन आयागले जारी राखेको प्रक्रियाअनुसार कम्तीमा पनि राष्ट्रियसभा निर्वाचनको परिणाम प्राप्त नहुँदासम्म नयाँ प्रधानमन्त्री चयन प्रक्रिया अगाडि बढ्ने अवस्था छैन । यो समयसीमाअनुसार छिटोमा फागुनको पहिलो साता नयाँ प्रधानमन्त्री सिंहदरबार पुग्ने संभावना छ । माघसम्म राष्ट्रियसभामा निर्वाचनको अन्तिम परिणाम तथा प्रतिनिधिसभाको समानुपातिकतफृको मतपरिणाम र सदस्य छनोटले नै समय लिने देखिएको छ ।

राष्ट्रियसभा अध्यादेश जारी भएकै दिन गत शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका पदाधिकारीहरुबीचको छलफल अनुसार ढिलामा माघ मसान्तभित्र निर्वाचन हुने गरी मितिन तय गर्न समझदारी बनेको छ । निर्वाचन आयोगले यसबीचमा दल दर्ताको प्रक्रिया सकेर सरकारले तय गरेको मितिअनुसार निर्वाचनको आन्तरिक कार्यतालिका तयार पानेछ । –गोरखापत्र दैनिक