प्रधानन्यायाधीशले ज्यान मार्ने धम्की दिए ः अधिवक्ता भण्डारी (निवेदन सहित)

१७ माघ २०७४, बुधबार ०९:२०

माघ १७ , काठमाडौं ।

प्रधानन्यायाधीश गोपाल पराजुलीले ज्यान मार्ने धम्की दिएको भन्दै वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले सुरक्षा माग गरेका छन् ।


डा. गोविन्द केसीको पक्षमा वकालत गर्दै आएका भण्डारीले शान्ति सुरक्षा पाउँ भन्दै बुधबार काठमाडौंका प्रमुख जिल्ला अधिकारीसमक्ष निवेदन समेत दिएका छन् । भण्डारीसँगै डा। केसी, अधिवक्ता ओमप्रकाश अर्याल पनि जिप्रका पुगेका थिए ।

प्रधानन्यायाधीश पराजुलीले २६ पुस अन्दाजी ५.३० बजे तथा बिहीबार बिहान अन्दाजी ९.३० बजे फोन गरी ज्यान मार्नेसम्मको धम्की दिएको भण्डारीको निवेदनमा उल्लेख छ ।

माघ १६ गते २ बजेतिर केही मानिस आफ्नो घरमा आएर पुनः धम्की दिएको भन्दै भण्डारीले प्रधानन्यायाधीशबाटै आफ्नो ज्यानमा खतरा भएको बताएका छन्

वरिष्ठ अधिवक्ता भण्डारीले भनेका छन्, ‘मेरो ज्यानमा प्र.न्या.बाट खतरा भएको हुनाले मेरो ज्यूज्यानको सुरक्षा गरी पाउँ र मेरो ज्यू ज्यानमा तलमाथि भएमा निज प्र.न्या. गोपाल पराजुलीमाथि कानुनी कारबाही गरिपाऊँ ।’