गर्भवती र सुत्केरीलाई कुखुरा वितरण गरिने

१७ माघ २०७४, बुधबार ०८:५०

माघ १७, काठमाडौं ।

गुल्मीका गर्भवतीदेखि सुत्केरी अवस्थाका अति विपन्न ३ हजार १ सय ५४ जना आमाहरुलाई कुखुरा दिइने भएको छ । एच.के.आईको आर्थिक तथा प्राविधिक सहयोगमा सुआहारा–२ कार्यक्रमले यो वर्ष १५ हजार सात सय ७० कुखुरा वितरण गर्न लागेको हो ।

सुआहारा कार्यक्रममार्फत जिल्ला विकास समिति, गुल्मीले निर्धारण गरेका अतिविपन्न घर परिवारहरुलाई कुखुरा बितरण गरिरहेको छ । साविकका १९ गाविसका तीन हजार एक सय ५४ घरधुरीका १५ हजार सात सय ७० जना आमाहरुले कुखुरा पाउने सुआहारा कार्यक्रमको घरयासी खाद्यान्य उत्पादन तथा बजारीकरण अधिकृत प्रदीप थापाले बताए ।


अहिलेसम्म साविकका १५ गाविसका १२ हजार पाँच सय २८ आमाहरुलाई कुखरा वितरण गरिएको छ । अब पाँच वटा स्थानमा कुखुरा बितरण गर्न बाँकी रहेको सुआहारा गुल्मीले जनाएको छ । इस्मा गाउँपालिकाका १ र दुई वडामा मात्रै दुई सय ७५ आमाहरुलाई एक हजार तीन सय ७० कुखुरा वितरण गरिएको छ ।

एक घरपरिवार वा एक आमाहरुलाई पाँच वटाका दरले कुखुरा वितरण गरिएको छ । उनीहरुलाई दुईवटा भाले र तीनवटा पोथी वितरण गरिएको छ । सुआहारा गुल्मीका कार्यक्रम संयोजक ज्ञानदीप आचार्यका अनुसार आमाहरुलाई न्यू हेम्पसायर र ब्ल्याक स्टरलक नामक कुखुरा वितरण गरिएको हो ।


यो प्रजातीका कुखुराले वर्षदिनमा दुई सय ८० भन्दा बढी अण्डा उत्पादन गर्दछ । सुनौलो हजारका आमा र बच्चालाई पोषणयुक्त खानाको रुपमा अण्डा राम्रो हुने भएकोले आफूहरुले कुखुरा वितरण गरेको कार्यक्रम संयोजक आचार्यले बताए । गर्भवती भएदेखि बच्चा दुई वर्षको हुँदासम्मको दिनलाई सुनौला हजार दिन भनिन्छ ।

यो अवधिमा बच्चाको ८० प्रतिशत दिमागको विकास हुने भएकोले पनि यो समयमा पौष्टिकयुक्त खानाको निकै आवश्यकता पर्दछ । जुन तत्व अण्डाबाट बढी प्राप्त हुने सुआहारासँगको साझेदार संस्था एकीकृत ग्रामीण विकास समाजका कार्यकारी निर्देशक गणेश श्रीपालीले बताए ।

कुखुरा वितरण गर्दै इस्मा गाउँपालिका प्रमुख लक्ष्मण बिष्टले सुआहारा कार्यक्रमले महिला र विपन्न समुदायका लागि खेलेको भुमिका अत्यन्तै महत्पूर्ण भएको बताए ।