बालबालिका मार्ने तालिबानसँग वार्ता गर्ने कुरै छैन : ट्रम्प

१७ माघ २०७४, बुधबार ०७:१५

माघ १६, काठमाडौं ।

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले तालिबानसँग कुनै पनि वार्ताको सम्भावनालाई अस्वीकार गरेका छन् । उनले पूरै अफगानिस्तानमा मानिसहरू मार्ने र बच्चा तथा परिवारमाथि बम आक्रमण गर्ने तालिबानसँग वार्ता गर्ने प्रश्नै नउठ्ने बताए ।

सोमवार मात्र काबुलमा भएको बम आक्रमणमा १५ सैनिक मारिएका थिए । आईएस आतंकवादीहरूले सैन्य एकेडमीमा आक्रमण गरेका थिए ।

दुई आतंकवादीहरू एकेडमीमा घुस्ने कोशिश गर्दागर्दै आत्मघाती आक्रमणमा मारिएका थिए । अन्य दुई आतंकवादीले अन्धाधुन्ध फाइरिङ गरेका थिए ।

समाचार संस्था रोयटर्सका अनुसार, ट्रम्पले काबुलमा भएको आत्मघाती आक्रमणको निन्दा गरे र तालिबानलाई सिध्याइदिने दाबी गरे ।

उनले भने, ‘तालिबानमाथि सेनाको जीतको सम्भावना हामीले देखेका छौं । उनीहरूसँग कुराकानी गर्ने सम्भावनै छैन । त्यहाँ अर्कै लडाईं चलिरहेको छ ।’

अफगानिस्तानमा सबै ठाउँमा निर्दोष मानिस मारिइरहेको अनि बालबालिकामाथि बमवर्षा गरिएको उनले बताए ।

ट्रम्पले अघिल्लो वर्ष अफगानिस्तानमा अमेरिकी सैनिकहरूको संख्या बढाउने आदेश दिएका थिए । यही महीना संयुक्त राष्ट्रसंघमा अमेरिकी राजदूत निक्की हेलीले ट्रम्प प्रशासन आतंकवादी गुटहरूसँग कुराकानी गर्न तयार रहेको बताएकी थिइन् ।