
माघ १६ ,काठमाडौं ।
साउदी अरबले विदेशी कामदारले काम गर्न नपाउने १२ वटा नयाँ क्षेत्र तोकेको छ । श्रम तथा सामाजिक विकास मन्त्री अली अल घाफिसले गरेको मन्त्रीस्तरीय निर्णयका आधारमा क्षेत्र तोकिएका हुन् ।
स्वदेशी नागरिकलाई शशक्तीकरण गर्ने तथा उनीहरुलाई निजी क्षेत्रमा रोजगारीका अवसरहरु सिर्जना गर्ने उद्देश्यले यस्तो निर्णय लिइएको जनाइएको छ । आउँदो सेप्टेम्बरबाट यो लागू हुनेछ ।
मन्त्रालयका प्रवक्ता खालेद अबालखेलका अनुसार १२ क्षेत्र यस प्रकार छन्ः
- घडी,
- चश्मा,
- मेडिकल औजार तथा उपकरणहरू,
- इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक उपकरणहरू (सामग्री),
- गाडीका पार्ट पुर्जाहरू,
- निर्माण सामग्रीहरू,
- कार्पेट,
- गाडी तथा मोटर साइकल,
- घर तथा कार्यालयका फर्निचरहरू,
- बच्चाहरूका लुगाफाटा तथा पुरूषहरूका सर सामान,
- घर तथा भान्सामा प्रयोग हुने भाँडाकुँडा
- र चकलेटहरू ।
मन्त्रीस्तरीय निर्णयबाट परिभाषित क्रियाकलाप तथा पसलहरुमा महिला जनशक्ति भर्ती गर्दा नियमको पालना गर्नुपर्ने उनले बताए । ‘यो शर्त अरु साउदीकरणका घोषणाहरुसँग बाझेको छैन’ उनले भने ।
प्रवक्ता अबालखेलका अनुसार नियम उल्लंघन गर्नेहरुमाथि कारवाही गरिनेछ । साथै माथि उल्लेखित कामहरु साउदीकरण गर्न र सम्वन्धित अधिकृतहरुसँग समन्वयका लागि कार्यक्रम विकास गर्न समिति बनाइने छ ।