आईएलटीएसको प्रश्नपत्र ‘किनबेच’ भएको प्रमाणित

१४ माघ २०७४, आईतवार ११:४९

माघ १४, काठमाडौं ।

ब्रिटिस काउन्सिल र आइडीपीले काठमाडौंमा लिने अंग्रेजी भाषा परीक्षाको प्रश्नपत्र परीक्षाअगावै ‘किनबेच’ भएको प्रमाणित भएको छ ।

यसअघि गत २१ पुसमा प्रहरी परिसर, काठमाडौंले सुन्धारामा प्रश्नपत्र लेनदेन हुँदै गर्दा एक कन्सल्टेन्सीका सञ्चालक र विद्यार्थीसहित १३ जनालाई पक्राउ गरेको थियो । त्यसको भोलिपल्ट २२ पुसमा आईएलटीएस परीक्षाको मिति तोकिएको थियो ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार आईएलटीएस परीक्षामा सोधिएका प्रश्न र लाखौं रुपैयाँ लिएर ‘लिक’ गरिएको प्रश्नलाई दाँजिएको छ । र, अधिकांश प्रश्नहरु मिलेका छन् ।

ती प्रहरी अधिकारीका अनुसार आईएलटीएस परीक्षाको प्रश्नमा लिसनिङतर्फ ४० वटा मध्ये ३८ वटा हुबहु मिलेको छ । ‘राइटिङतर्फ हुने दुवै प्रश्न पनि मिलेको पाइयो’, ती अधिकारीले भने, ‘रिडिङ चाहिँ मिलेन ।’

प्रहरीका अनुसार आईएलटीएस परीक्षाको प्रश्नपत्रको तीनवटा खण्डमध्ये दुईवटा खण्डको मिलेपछि २२ पुसमा लिइएको परीक्षा रद्द गर्न प्रहरीले पत्र काटेको छ । र, अदालतमा समेत बुझाएको छ ।

प्रहरीले शनिबार आईएलटीएस परीक्षा लिने ब्रिटिस काउन्सिल र आईडिपीको प्रश्नपत्र र ‘लिक’ भएको प्रश्नपत्रलाई दुवैको रोहवरमा दाँजेको थियो ।