क्यासिनो बादशाह ‘सेक्स स्क्यान्डल’मा फसे

१४ माघ २०७४, आईतवार ०७:४७

माघ १४, काठमाडौं ।

यौन उत्पीडनको आरोप लागेपछि अमेरिकी क्यासिनो मुगल स्टीव वाइनले रिपब्लिकन नेशनल कमिटीको वित्त प्रमुखबाट राजीनामा दिएका छन् ।

शुक्रबार वाल स्ट्रिट जर्नलको रिपोर्टमा ७६ वर्षीय अर्बपतिमाथि मसाज गर्नेलाई दुःख दिएको र उनीहरुमध्ये एकलाई यौन सम्बन्ध राख्न बाध्य पारेको आरोप लगाइएको छ । वाइनले आरोपको खण्डन गरेका छन् ।

रिपब्लिकन नेशनल कमिटीका प्रमुखले वाइनको राजीनामा स्वीकृत गरेको बताएका छन् ।

वायनले यसको दोष पूर्वीपत्नी ऐलेनलाई दिएका छन्, जोसँग उनी मानहानीको मुद्दा पनि लडिरहेका छन् । उनको टिमले बीबीसीलाई पठाएको बयानमा भनिएको छ, ‘मेरी पूर्वपत्नीले लगातार यस्तो आरोप लगाइरहेकी छन् । यही कारण म यस्तो भयानक र नराम्रो मुद्दामा फसेको छु ।’


वाल स्ट्रिट जर्नलले भने अर्बपति वायनसँग काम गरेका दर्जनौं मानिसलाई हवाला दिँदै भनेको छ, ‘आफ्नो कार्यालयमा एक्लै बस्दा कयौंपटक मसाज गर्नेहरुलाई यौन उत्पीडन गरेको आरोप लाग्दै आएको छ ।’

अदालतको एक दस्तावेजलाई उदृत गर्दै जर्नलले क्यासिनोका बादशाहले एक मेकअप आर्टिस्टलाई ७.५ मिलियन डलर तिरेको उल्लेख गरेको छ । मेकअप आर्टिस्टले वायनमाथि यौन उत्पीडनको आरोप लगाएकी थिइन् ।