मेलम्चीको पानी धारामा दैनिक ५ घण्टासम्म आउँदै

१२ माघ २०७४, शुक्रबार ११:५८

माघ १२, काठमाडौं ।

मेलम्ची खानेपानी आयोजनाको भनाइलाई विश्वास गर्ने हो भने मेलम्ची आएपछि उपभोक्ताको धारामा दैनिक ४ देखि ५ घण्टा पानी झर्नेछ

अहिले हप्तामा एक घण्टा पनि पानी नपाएर अक्रान्त बनेको काठमाडौंलाई दिनमा ५ घण्टा नै पानी आए पनि राहत मिल्ने छ ।

आयोजनाकाअनुसार पानीको अभाव भने मेलम्चीले मेटाइहाल्ने अवस्था छैन । काठमाडौं उपत्यका खानेपानी लिमिटेड अन्तरगतको आयोजना कार्यान्वयन निर्देशनालयका प्रवक्ता लिलाप्रसाद ढकाल मेलम्ची आएपछि दैनिक ५ घण्टासम्म पानी वितरण गर्न सकिने प्रारम्भिक अनुमान गरिएको सुनाउँछन् ।

मेलम्ची आयोजनाबाट अहिले दिनमा १७ करोड लिटर पानी आउनेछ । तर, माग त्यो भन्दा निकै उच्च छ । अहिले केयूकेएलले दैनिक १० करोड लिटर पानी वितरण गरिरहेको छ माग भने ३८ करोड लिटरभन्दा माथि छ

‘यांग्री र लार्के खोलाको पानी मेलम्चीमा नमिसाएसम्म दिनमा ४ देखि ५ घण्टामा मात्रै पानी बाँड्न सकिन्छ भन्ने अनुमान छ । हामी त्यसको वितरण सञ्जाल निर्माणका लागि द्रुत गतिमै काम गरिरहेका छौं,’ ढकालले भने ।

अहिले मेलम्चीको सुरुङमा सिन्धुपाल्चोकका यांग्री र लार्के खोलाबाट थप ३४ करोड लिटर पानी मिसाउने गरी विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार हुँदैछ ।

प्रवक्ता ढकाल मेलम्चीको पानी आएपछि उपभोक्तालाई कति पानी कुन–कुन समयमा दिने भनेर निर्णय हुन बाँकी रहेको बताउँछन् ।

सरकारको पछिल्लो दावीलाई मान्ने हो भने वैशाखभित्रमा मेलम्चीको पानी काठमाडौं झर्नेछ । तर, धेरै कामहरु बाँकी रहेकाले सरकारी दावीमा अविश्वास कायमै छ ।


आयोजना कार्यान्वयन निर्देशनालयले आफूले गरेको कामका समबन्धमा जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा ढकालले मेलम्ची आएपछि पनि चक्रपथ र त्यस आसपासका एक तिहाई क्षेत्रमा पुरानै पाइपमार्फत नै पानी वितरण गरिने बताए ।

उनकाअनुसार धुम्बाराही, महाराजगञ्ज, समाखुसीदेखि कलंकीसम्मका रिंगोरोड क्षेत्रमा अझै पनि पुराना पाइप हटाएर नयाँ हाल्न बाँकी छ । अन्य क्षेत्रमा भने पाइपलाइन बिछ्याउने काम लगभग सकिएको छ ।

मुख्य वितरण लाइनको ७७ किलोमिटर मध्ये करिब ६६ किलोमिटरमा पाइप बिछयाइसकेको उनले जानकारी दिए । त्यसैगरी अहिले काम भइरहेको ७५० किलोमिटर उपभोक्ताको घरसम्मको वितरण सञ्जाल निर्माणको काममध्ये ६५० किलोमिटरमा पाइप बिछ्याइसकिएको छ

तर, धुम्बाराहीदेखि कलंकीसम्मको रिंगरोड आसपास ३०० किलोमिटर पाइप बिछ्याउन बजेट अभाव भएको उनले बताए ।

एडीबीले उपत्याकामा पाइपलाइन सञ्जालको सुदृढीकरण, ढल प्रणालीको आधुनिकीकरण तथा पानी ट्यांकी निर्माणका लागि ८४ अर्ब रुपैयाँ ऋण सहयोग गरेको छ ।

पीआईडीले कुल ८४ हजार २१७ घरधुरीमा नयाँ पाइपलाइनको सञ्जाल पुर्‍याउनेछ । त्यसमध्ये अहलेसम्म ४५ हजार १८६ घरधुरीमा नयाँ पाइपलाइन पुर्‍याइसकिएको ढकालले बताए ।

  • एक तिहाई घरधुरीले भने मेलम्ची आएपछि पनि केही समय पुरानै वितरण प्रणालीबाट पानी पाउनेछन् ।

अहिले विभिन्न स्थानमा गरेर ७ करोड ४५ लाख लिटर पानी अटाउने ट्यांकीहरु पनि निर्माण भइररहेको छ ।

८ वटा ट्यांकीहरुको निर्माण पनि अन्तिम चरणमा रहेको र भक्तपुरको कटुञ्जेमा एउटा मात्रै ट्यांकीको निर्माण भर्खरै सुरु भएको पीआईडीले जनाएको छ ।

मेलम्चीको पानी वितरणका लागि सुन्दरीजलमा ८ करोड लिटरको पानी प्रशोधन केन्द्र बनाएर परीक्षण सकिएको छ । अब अर्को ८ करोड लिटरको प्रशोधन केन्द्रको पनि परीक्षण पनि केही समयमै गरिने निर्देशनालयले जनाएको छ ।

पुरानो पाइपलाइन निकै पुरानो भएकाले लिकेजको समस्या पनि हुन सक्ने ढकालले बताए ।