पाकिस्तानविरुद्ध पहिलो टी–२० मा न्युजिल्याण्डको सहज जित

९ माघ २०७४, मंगलवार १०:५८

माघ ९, काठमाडौं ।

तीन खेलको टी–२० सिरिजअन्तर्गत सोमबार भएको पहिलो खेलमा आयोजक न्युजिल्याण्डले पाकिस्तानलाई ७ विकेटले हराएको छ। यसअघि टेस्ट र एकदिवसीय सिरिज कब्जा गरेको न्युजिल्याण्डले टी–२० क्रिकेटमा पनि विजयी सुरुवात गरेको हो ।

पहिलो ब्याटिङ गरेको पाकिस्तान खराब प्रदर्शनको सिकार भयो । पाकिस्तानका लागि दुई खेलाडीले मात्र दोहोरो रनको स्कोर तयार गरेका थिए ।

१५ रन जोड्दा ३ विकेट गुमाएको पाकिस्तानका लागि बाबर अजामले ४१ रनको इनिङ खेल्दै पाकिस्तानलाई सम्हाल्ने कोशिस गरे। तर, अर्को छेउबाट निरन्तर विकेट पतन नरोकिएपछि पाकिस्तान १ सय ५ रन जोड्दा अलआट भयो ।

अर्को दोहोरो रनको स्कोरका रूपमा हसन अलीको २३ रन महत्वपूर्ण रह्यो। अलीले १२ बलमा २३ रन प्रहार गरे, जहाँ उनको ३ छक्का सामेल थियो। यसअघि ४१ रन बनाएका अजामले ४१ बल खेल्दै १ चौका र १ छक्का प्रहार गरेका थिए ।

पाकिस्तानलाई सस्तैमा समेट्ने क्रममा सेथ रान्स र टिम साउथीले ३–३ विकेट लिए । कसिलो बलिङ गरेका साउथीले ४ ओभर बलिङ गर्दै १३ रन खर्चेर ३ विकेट लिए । त्यस्तै, रान्सले पनि समान ४ ओभर बलिङ गर्दै २६ रन खर्चेर ३ विकेट नै लिए ।

त्यस्तै, मिचेल सेन्टनरले २ विकेट लिँदा कोलिन मुन्रो र अनरु किचेनका नाममा समान १–१ विकेट रह्यो। १ सय ६ रनको झिनो लक्ष्य लिएर मैदानमा उत्रिएको न्युजिल्याण्डले २५ बलअगावै ३ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । ओपनर मार्टिन गुप्तिल २ तथा ग्लेन फिलिप्स ३ रनमा आउट भए पनि अर्का ओपनर कोलिन मुन्रो र रोस टेलरले चौथो विकेटका लागि अविजित ४९ रनको साझेदारी गरे ।

मुन्रोले ४३ बलमा ३ चौका र २ छक्काको मद्दतमा ४९ रन बनाउँदा टेलर १३ बलमा ३ चौकाको मद्दतमा २२ रन बनाएर क्रिजमा रहे । त्यस्तै, टोम ब्रुसले २६ रनको योगदान दिएका थिए ।