आजकै दिन केही क्षणमै मरेका थिए, आठ लाखभन्दा बढी मानिस

९ माघ २०७४, मंगलवार ०९:३३

माघ ९, काठमाडौं । (एजेन्सी)

सन् १५५६ मा आज अर्थात् २३ जनवरीका दिन चीनमा संसारको सबभन्दा ठूलो भूकम्प आएको थियो । यो भूकम्पले एक झमटमै आठ लाख ३० हजार मानिसको ज्यान लिएको थियो ।

यसलाई शांक्सी भूकम्प भनी चिनिन्छ । हुन त यसभन्दा बढी तीव्रता (म्याग्निच्युड) का भूकम्पहरू संसारमा आइसकेका छन् तर ८ म्याग्निच्युडको यो भूकम्पले सबभन्दा धेरै मृत्यु गरायो ।

यो भूकम्पले ८४० किलोमिटर क्षेत्रमा विनाश मच्चाएको थियो । त्यति ठूलो क्षेत्र पूरै ध्वस्त भएको थियो । यसको असर शांक्सी प्रान्तका ९७ वटा काउन्टीहरूमा परेको थियो ।

भूकम्पका कारण भूस्खलन भएका थिए । यी सबैले गर्दा आठ लाखभन्दा बढी मानिस मरेका थिए ।

इतिहासकारहरूका अनुसार, भूकम्पको तीव्रताका कारण जमीनमा ६६ फीटसम्म गहिरो चिरा परेको थियो र प्रभावित क्षेत्रमा ६० प्रतिशतसम्मको जनसंख्या ध्वस्त भएको थियो ।


हुआसियान सिटीनजिकको वेई नदीमा भूकम्पको केन्द्रविन्दु थियो । यो भूकम्प जमीनभन्दा कति तलबाट आएको हो भन्ने विषयमा वैज्ञानिकहरूसँग कुनै जानकारी छैन । तर विनाशलाई हेर्दा यो भूकम्प जमीनको केही किलोमिटर तलबाट मात्र शुरू भएको अनुमान लगाउन सकिन्छ ।

चीनमा त्यसपछिको ठूलो भूकम्प सन् १९७६ को २८ जुलाईमा आएको थियो । ताङशान शहर ७.८ म्याग्निच्युडको भूकम्पका कारण ध्वस्त भएको थियो । त्यसमा पाँच लाखभन्दा बढी मानिस मरेका थिए ।

थाहा भएसम्म सबभन्दा ठूलो भूकम्प सन् १९६० मा चिलीमा गएको थियो । त्यहाँको ९।५ म्याग्निच्युडको भूकम्पले भयंकर विनाश मच्चाएको थियो । यसको तागत एक हजार एटम बमजत्तिको बताइन्छ ।

यसको असर बोलिभियादेखि हवाई टापुसम्म थियो । यसमा परी ६ हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो । रेक्टर स्केलमा यो नै सबभन्दा ठूलो भूकम्प मानिन्छ ।