जग्गा खरिद प्रकरणको अनुसन्धान अन्तिम चरणमा

९ माघ २०७४, मंगलवार ०८:४८

माघ ९, काठमाडौं ।

नेपाल आयल निगमले इन्धन भण्डारणका लागि भन्दै देशका विभिन्न भागमा खरिद गरेको जग्गामा भएको अनियमिततामाथिको अनुसन्धान अन्तिम चरणमा पुगेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयल निगमको जग्गा खरिद प्रकरणमा भएको आर्थिक चलखेलको अनुसन्धान अन्तिम चरणमा पुर्याएको हो । अख्तियारले जग्गा खरिद प्रकरणमा जोडिएका करिब ३ सय जनाको बयान लिएको छ ।

अख्तियार स्रोतका अनुसार जग्गा खरिद प्रकरणमा मुछिएका जग्गाधनी, बिचौलिया, टेन्डरदाता, तत्कालीन स्थानीय निकायका प्रतिनिधिसँगको वयान सकिएको छ ।

आयोगले आयल निगमका १६ जना कर्मचारीसँग पनि बयान लिइसकेको छ । आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले अख्तियारले बयानका लागि बोलाएको बताए ।

अनुसन्धान अन्तिम चरणमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयल निगमको जग्गा खरिद प्रकरणको अनुसन्धानलाई अन्तिम चरणमा पुर्याएको छ । अख्तियार स्रोतका घोटाला भएको प्रमाण फेला परिसकेका छन् ।

अब आयल निमगका कार्यकारी निर्देशक गोपाल खड्का र सञ्चालक समितिका सदस्य तथा पदाधिकारीसँग बयान लिने काम मात्रै बाँकी  छ । त्यो पनि करिब १ सातामा सकिने स्रोतको दावी छ ।

त्यसपछि विशेष अदालतमा मुद्दा दायर गरिने अख्तियार स्रोतले बताएको छ ।