अदुवा निकासीमा भारतको अवरोध, व्यापारी बिचल्लीमा

९ माघ २०७४, मंगलवार ०७:४६

माघ ९, काठमाडौं ।

भारतीय पक्षले नेपाली अदुवा निकासीमा अवरोध गरेको छ । जसका कारण काँकडभिट्टा भन्सारमा पुगिसकेको दश हजार टन अदुवा फर्काइएको छ ।

नेपाली अदुवा गुणस्तरहीन भएको र चिनियाँ अदुवा मिसाइएको भारतीय पक्षको दावी छ । यहि दावी गर्दै भारतीय पक्षले पूर्र्वी पहाडी क्षेत्रबाट भारत निकासीका लागि अदुवा बोकेर काँकडभिट्टा नाका पुगिसकेका ४० वटा ट्रक दुई हप्तादेखि रोकेर राखिएको थियो ।


अदुवा निकासीका लागि एक साता लामो प्रयास असफल भएपछि कोही व्यापारीले नजिकैको गोदाममा राखेका छन् । कोहीले पहाड नै फर्काएका छन् । कोहीले भने गाडीमै अदुवा राखेका छन् ।

अचानक निकासी बन्द हुँदा व्यापारीहरुको विचल्ली भएको छ ।

दुई हप्तासम्म अदुवा गाडीमै राखेकाले गाडी भाडाबाट समेत थप नोक्सानी व्यहोर्नु परेको व्यापारीहरु बताउँछन् ।

माथिको आदेश भन्दै भारतीय भन्सारले अचानक अदुवा निकासीमा रोक लगाएको व्यापारीहरु बताउँछन् । माथिबाट के पत्र आएको हो भनेर सोध्दा खुलाउन चाहँदैनन्

भारतीय वाणिज्य मन्त्रालयबाट स्वीकृती लिएर मात्र निकासी गर्न दिने भारतीय भन्सार अधिकारीहरुले बताएको अदुवा उत्पादक तथा व्यवसायी संघका केन्द्रीय अध्यक्ष नरेन्द्र खड्काले बताए ।

व्यापारीहरुले कूटनीतिक पहल गरेर लोड भएको अदुवा निकासीको व्यवस्था मिलाइदिन सरकारसँग आग्रह गर्द आएका छन् ।