थारु वस्तीमा पशुपंक्षीको बलि निषेध

८ माघ २०७४, सोमबार ११:३३

८ माघ, काठमाडौं ।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका थारु समुदायले पूजामा पशुपक्षी बलि दिन निषेध गरेका छन् ।

माघी पर्वको महत्वपूर्ण दिन खोजनी बोझनीका लागि सोमबार आयोजित बैठकमा गाउँका भद्रभालदमी, गुरुवा, केसौका, बडघरलगायतले पूजामा पशुपंक्षी बलि दिंदा समाजमा क्रुरता र निदर्ययिताको भावनाको विकास हुने भएकाले त्यस प्रथालाई निरुत्साहित गर्ने निर्णय गरेका हुन् ।

उक्त समुदायले हरेरी, निकासी, देशबन्ध्या, असारी, होरीलगायतका पूजामा निर्दयी तरिकाले सयौँको संख्यामा कुखुरा, बंगुर, भेडा, बाख्रा, हाँसलगायतका पशुपक्षीको बलि दिने परम्परा रहँदैआए पनि त्यसमा विराम लगाउँन बलि दिन निषेध गर्ने निर्णय गरिएको बडघरियाका नरेन्द्रप्रसाद चौधरीले बताए ।

भुइयारीमा थारु समुदायका अठार देवता हुन्छन् उनले भने, ‘सबै देवतामा पशुपक्षी बलि दिने चलन भए पनि अबदेखि ती सबैमा बलि नदिने निर्णय गरेका छौँ ।’ पशुपक्षीको सट्टा नरिबल, फलफूललगायतको बलि दिइ प्रसादका रुपमा ग्रहण गर्ने निर्णय समाजको बैठकले सर्वसम्मतिले पारित गरेको उनले जानकारी दिए ।

थारु समुदायले सामूहिकरुपमा पूजा गर्ने चलन भएको र पूजासम्बन्धी नियम लागू गरिएपछि सबैले मान्ने चलन पनि छ । गाउँका सबै जनाले पशुपक्षी बलि दिन नहुनेमा सर्मथनसमेत जनाएका छन् ।

बैठकमै गाउँमा जथाभावी रुपमा प्लाष्टिकको प्रयोग गर्नसमेत प्रतिबन्ध लगाइएको छ ।