
माघ ८, काठमाडौं ।
निर्माण व्यवसायीहरूले १५ दिनकै अवधिमा पाँच पटकसम्म मूल्यवृद्धि गरेको पाइएको छ । मूल्यवृद्धिसँगै नयाँ घर बनाउने तयारीमा रहेकाहरु मारमा परेका छन् ।
घर निर्माणमा प्रयोग हुने सिमेन्ट, छड लगायत निर्माण सामग्रीको मूल्य हठात बढेपछि आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले यसबारे अनुगमन गरेको छ ।
विभागले तयार गरेको अनुगमन प्रतिवेदनले व्यवसायीले अनियमित ढंगले मूल्यवृद्धि गराएको निश्कर्ष निकालेको छ । अध्ययन प्रतिवेदन अनुसार व्यवसायीले १७ प्रतिशतसम्म मूल्य वृद्धि गरेका छन् ।
विभागका महानिर्देशक कुमारप्रसाद दाहालले सात प्रतिशतको मूल्यवृद्धि घोषणा गरेर दोब्बरसम्म बढाएको बताए ।
भारत र चीन लगायतका मुलुकबाट आउने कच्चा पदार्थ महंगिएको कारण देखाउँदै करीव एक महिनाअघि निर्माण व्यवसायीहरूले सिमेन्ट र छडको मूल्यवृद्धि गरेका थिए ।
ती निर्माण समाग्रीको अस्वाभाविक मूल्यवृद्धि भएपछि विभागले धादिङका उद्योग र बजारबाट गरिएको मूल्य संकलनका आधारमा प्रतिवेदन तयार गरेको छ ।
प्रतिवेदनमा सिमेन्टमा ७ देखि १७ प्रतिशतसम्म र फलामे छडमा ५ देखि ९ प्रतिशतसम्म मूल्यवृद्धि गरिएको उल्लेख छ ।
विभागका अनुसार :
- अम्बे सिमेन्टले सबैभन्दा बढी मूल्यवृद्धि गरेको छ । उक्त सिमेन्टले १७ प्रतिशत मूल्यवृद्धि गरेको छ ।
- त्यस्तै, सालिमार ओपिसी सिमेन्टले १६ प्रतिशत,
- शिवम् सिमेन्टले १५ दशमलव दुई प्रतिशत,
- हेटौंडा सिमेन्टले १३ प्रतिशत,
- निर्माण सिमेन्टले १२ दशमलव पाँच प्रतिशत,
- अग्नी सिमेन्टले १० दशमलव पाँच प्रतिशत
- र मारुती सिमेन्टले ६ दशमलव चार प्रतिशत मूल्यवृद्धि गरेको देखिएको छ ।
- त्यस्तै, हामा छडले ८ दशमलव सात प्रतिशत,
- जगदम्बा छडले सात प्रतिशत
- र शाखः छडले ४.७ प्रतिशतसम्म मूल्यवृद्धि गरेको प्रतिवेदनमा उल्लेख छ ।
उद्योगीहरूले क्लिङकर, डिजेल, विद्युत महसुल, ढुवानी, कोइला, जिप्सम, र बढ्दो खर्च, बैंकको ब्याजमा भएको मूल्यवृद्धिले वस्तुको मूल्य बढाउनुपरेको दाबी गरेका छन्।
उद्योगले गरेको मूल्यवृद्धि तथा भाँडामा भएको मनोमानी मूल्यवृद्धिले उपभोक्ता मूल्यमा सिमेन्ट प्रतिबोरा एक सय २० रुपैयाँसम्म र डन्डीमा प्रतिकिलो १० रुपैयाँसम्म मूल्यवृद्धि भएको पाइएको विभागले जनाएको छ ।
उद्योगीले बढाएको मूल्य अस्वभाविक भएको दावी गर्दै विभागले साविककै मूल्य कायम गर्न सुझाव दिएको छ । त्यस्तै, आवश्यक कच्चा पदार्थको उपलब्धता र आयातमा सजहता कायम गर्नुपर्ने, सरकारी स्वामित्वका उद्योगको क्षमता विकास र उत्पादन बढाउन पनि विभागले सुझाव दिएको छ ।
ट्रक व्यवसायीहरूले इन्धनको मूल्यवृद्धिको बहानामा अवैज्ञानिक रुपमा पाँच प्रतिशतसम्म भाडा वृद्धि गरेको विभागले जानकारी दिए ।
मूल्यवृद्धिका कारण अन्तरराष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्यवृद्धि भनिए पनि आफैं क्लिङ्कर उत्पादन गर्ने उद्योगले पनि मनोमानी मूल्य बढाएको प्रतिवेदनमा जनाइएको छ ।