इबोलाको औषधि पत्ता लगाउनेमध्ये नेपाली वैज्ञानिक सुदीप पनि

८ माघ २०७४, सोमबार ०७:३८

माघ ८, काठमाडौं ।

अमेरिकाको जर्जिया राज्यस्थित “इन्स्टिच्युट फर बायोमेडिकल साइन्स” विश्वविद्यालयमा कार्यरत नेपाली डाक्टर सुदीप खड्का यतिबेला चर्चामा आएका छन् । विश्वमै खतरनाक मानिएको इबोला भाइरसको औषधि पत्ता लगाएर उनी चर्चामा आएका हुन् ।

जर्जिया राज्यस्थित इन्स्टिच्युट फर बायोमेडिकल साइन्स विश्वयविद्यालयमा नेपाली डा. खड्कासहित कार्यरत ११ जनाको वैज्ञानिक टोलीले हालसालै विश्वमै खतरनाक मानिएको इबोला भइसरको औषधि पत्ता लगाएका छन् ।

नेपाली डा.सुदिपसहित अन्य देशका १० जना वैज्ञानिकहरुको टोलीले तीन वर्ष लगाएर इबोला भाइरसको औषधि पत्ता लगाउन सफल भएका हुन् । तीन वर्षमा दुई लाख वटा औषधिको अनुसन्धानबाट ५६ सम्भावित औषधि पत्ता लागाउन सफल भएको डा.खड्काले जानकारी दिए ।

औषधिको प्रयोग विधि, मात्रा र साइड इफेक्टबारे थप अनुसन्धान शुरु गरिएको भन्दै उनले इबोलाको औषधि प्रयोगमा आउँन केही वर्ष लाग्न सक्ने बताए ।

संसारकै खतरनाक रोग मानिने इबोलाको कुनै औषधि छैन । अत्यन्तै चाँडो सर्ने भएकाले यो रोगले छिटै माहामारीको रुप लिने गरेको छ ।

इबोलाको संक्रमण नफैलियोस् भनेर अन्तराष्ट्रिय विमानस्थलहरुमा विदेश यात्राबाट फर्किने यात्रुहरुलाई इन्फ्रारेड क्यामेराको प्रयोगबाट सम्भावित संक्रमित यात्रुहरुको पहिचान गरिन्छ ।

सुरक्षाको दृष्टिले अत्यन्तै संवेदनशील मानिने अमेरिकाको चौथो तहको प्रयोगशालामा इबोला भाइरसको औषधि पत्ता लगाउनु सफल भएको डा.खड्काले बताए ।

अमेरिकी सरकारले लामो स्वास्थ्य सुरक्षा र तालिम पछि मात्रै प्रयोगशालामा काम गर्ने अनुमति दिन्छ ।