प्रदेश १ को नाम लिम्बुवानका साथै राजधानी धरान हुनुपर्ने

७ माघ २०७४, आईतवार ११:२९

माघ ७, काठमाडौं ।

प्रदेश १ मा संघीय लिम्बुवान पार्टीकी एक्ली प्रदेश सांसद बिष्णु तुम्बाहाम्फेले प्रदेश १ को नाम लिम्बुवान र राजधानी धरानको विजयपुर हुनुपर्ने बताएकी छिन् ।

बिराटनगरको वीरेन्द्र सभागृहमा प्रदेश सभा सदस्यहरुको सपथ लिएर बाहिर आएकी तुम्बाहाम्फेले राजधानीका लागि बिराटनगर उपयुक्त नभएको बताइन् । ऐतिहासिक पृष्ठभूमिका आधारमा लिम्बुवान नाम र राजधानी बिजयपुरमा हुनुपर्ने उनले बताइन् ।

२७ हजार हाराहारीको मतले प्रदेशसभाको समानुपातिक सदस्य बनेकी तुम्बाहाम्फेले आफूले प्रदेश सभाका सबै मञ्चमा लिम्बुवान स्थापनाका लागि आवाज उठाउने बताइन् ।

‘हाम्रो पार्टीको धारणा नै अरुणपूर्वका ९ जिल्लालाई लिम्बुवान राख्ने हो, ै उनले भनिन्, ‘तर हामीले ९ जिल्लाको लिम्बुवान मागेको तर, सरकारले १४ जिल्ला दिएर ९ नम्बरको जुत्ता लाउनुपर्नेमा १४ नम्बरको लगाइदियो ।’

मोरङ क्षेत्र नम्बर ३ मा ०४८ साल र ०५१ सालमा गोरेबहादुर खापांगीको राष्ट्रिय जनमुक्ति पार्टीबाट सांसद भिडेकी तुम्बाहाम्फेले योपटक संघीयता आइपछि मात्रै सांसद बन्न पाएकी हुन् । सांसद भएकाले अब लिम्बुवान प्राप्तिमा आफ्नो भूमिका बलियो बनाउने उनले बताइन् ।

प्रदेश १ का कुल ९३ सांसदमा एकजना मात्रै लिम्बुवान पार्टीको सांसद भए पनि आफ्नो एजेण्डा बलियो भएकाले लिम्बुवान प्राप्ति भएरै छाड्ने उनले बताइन् ।