चिसोका कारण यस वर्ष मध्य–पूर्वी आठ जिल्लामा मात्र ८२ जनाले ज्यान गुमाए

२ माघ २०७४, मंगलवार ०७:२६

जयप्रकाश यादव
माघ २ ,रौतहट ।
तराईमा दुई सातादेखि बढेको अत्यधिक चिसो र शीत लहरका कारण मध्यपूर्वी तराईका जिल्लाको जनजीवन थप कष्टकर बन्न पुगेको छ ।

 

चिसोका कारण यस वर्ष मध्य–पूर्वी आठ जिल्लामा मात्र ८२ जनाले ज्यान गुमाईसकेका छन् भने आज पनि थुप्रै चिसोमा पीडा सहदै आएका छन् । विषेशगरि शीतलहर र अत्यधिक चिसोका कारण प्रदेश नम्बर २ अन्तर्गतका जिल्ला बढी प्रभावित भएका छन् । दुई सातादेखि अत्यधिक बढेको हुस्सु, शीतलहर र चिसोले मध्य पूर्वी तराईका बारा, पर्सा, सिरहा, रौतहट, सर्लाही, सप्तरी, धनुषा र महोत्तरीको जनजीवन पूर्णरुपमा प्रभावित बनेको हो । यी जिल्लाहरुमा हालसम्म चिसोकै कारण ८२ जनाले ज्यान गईसकेको देखिएको छ । जसमा सबैभन्दा बढी सप्तरीमा २४, रौतहटमा १९, सिरहामा १४, पर्सामा ९, बारामा ५, धनुषामा ५, सर्लाहीमा ३ र महोत्तरीमा ३ जनाको मृत्यु भएको छ । सम्बन्धित जिल्लाका जिल्ला अस्पतालमा दैनिक ५० देखि ६० जनासम्म जाडोबाट प्रभावित बिरामीहरु उपचार गराउन आइरहेका छन् । धेरै जसोमा हाडजोर्नी, भाइरल ज्वरो, झाडा पखालालगायतका समस्या देखिएको छ । चिसो र शीत लहरले मानिसमा मात्रै होइन, पशुचौपाया र तरकारी बालीमा समेत असर परेको छ । प्रभावित जिल्लाका पशु चौपाया बिरामी भएका छन् भने तरकारी बाली नष्ट हुन थालेको छ ।