म्यानचेस्टर सिटीमाथि लिभरपुलको शानदार जित

१ माघ २०७४, सोमबार ०४:४८

माघ १, काठमाडौं । इंग्लिश प्रिमियर लिग फुटबलमा लिभरपुलले शानदार जित निकालेको छ । आइतबार राति भएको खेलमा लिभरपुलले शिर्ष स्थानको म्यानचेस्टर सिटीलाई ४ – ३ ले पराजित गरेको हो ।

घरेलु मैदानमा लिभरपुललाई जित दिलाउन ओक्सलेड चेम्बरलेन, रोबर्टो फिर्मिन्हो, साडिओ माने र मोहम्मद सलाहले समान एक एक गोल गरे । म्यानचेस्टर सिटीका लिरोय साने, बेर्नार्डो सिल्भा र गुन्डोगानले समान एक एक गोल फर्काए ।  एनफिल्डमा खेलको नवौँ मिनेटमा चेम्बरलेनले गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाए । खेलको ४० औँ मिनेटमा सिटीका सानेले एक गोल गर्दा पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको थियो । दोस्रो हाफको ५९ औँ मिनेटमा फिर्मिन्होले गोल गर्दै लिभरपुललाई २ – १ को अग्रता दिलाए ।

खेलको ६१ औं मिनेटमा मानेले गोल गर्दै लिभरपुललाई ३ – १ को अग्रता दिलाए । खेलको ६८ औँ मिनेटमा सालहले गोल गरेपछि लिभरपुल ४–१ ले अघि रह्यो । खेलको अन्तिम १० मिनेटभित्र सिटी खेलमा फर्कने कोशिश गर्यो । खेलको ८४ औँ मिनेटमा सिटीका सिल्भाले गोल गर्दै खेल ४ – २ मा ल्याए । त्यसपछि खेलको इन्जुरी समयमा सिटीका गुन्डोगानले एक गोल फर्काएपनि लिभरपुल ४ – ३ ले बिजयी भयो ।

यो जितसंगै लिभरपुलले लिगमा सिटीको अपराजित यात्रामा पूर्ण्विराम लगाईदिएको छ । प्रिमियर लिगको उपाधिमा एक्लो दाबेदार सिटी लिगको २३ औँ खेलपछि पहिलो पटक पराजित भएको हो । यो जितपछि तेस्रो स्थानको लिभरपुलले २३ खेलबाट ४७ अंक बनाएको छ । लिग लिडर सिटीको २३ खेलबाट ६२ अंक छ । सिटी दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडभन्दा १३ अंकले अघि छ ।–एजेन्सी