बिहीबार प्रदेश प्रमुख र अस्थायी राजधानी तोकिन्छः उपप्रधानमन्त्री गच्छदार

१ माघ २०७४, सोमबार ०३:३९

माघ १, काठमाडौं । उपप्रधानमन्त्री एवम् स्थानीय विकास मन्त्री विजयकुमार गच्छेदारले आगामी बिहीबार बस्ने मन्त्रीपरिषद्को बैठकले प्रदेश प्रमुख र प्रदेशको अस्थायी राजधानी तोक्ने बताएका छन् ।

विराटनगर विमानस्थलमा पत्रकारहरुसंग कुरा गर्दै उनले राष्ट्रिय पार्टीहरुबीच न्यूनतम सहमति गरी प्रमुख र प्रदेशको अस्थायी केन्द्रबारे निर्णय हुने बताए । ‘दलहरुबीच सहमति भन्नु नै भागबण्डा हो, योग्य र राम्रो व्यक्तित्व भएका व्यक्तिलाई प्रदेश प्रमुखमा नियुक्ति गरिनेछ,’ उनले भने ।  दलहरुबीच सहमति कायम हुन नसकेमा वर्तमान सरकारले विधिसम्मत रुपमा प्रदेश प्रमुख तोक्ने बताउँदै उनले प्रदेश प्रमुखलाई पूर्वग्राही ढंगबाट अब बन्ने सरकारले हटाउन नसक्ने बताए । उनले गत शुक्रबार नेकपा (माओवादी केन्द्र) बाट प्रतिनिधिनित्व गर्ने मन्त्रीले प्रमुख र अस्थायी केन्द्र तोक्ने निर्णयमा सहमति नगर्ने भनी राजीनामा दिएको हुनाले निर्णय हुन नसकेको प्रस्ट पारे ।

उपप्रधानमन्त्री गच्छदारले देश संघीयतामा गइसकेको हुनाले नियमित प्रक्रियाअन्र्तगत तह मिलान गर्न नेपाल प्रहरी तथा सशस्त्र प्रहरीमा केही दरबन्दी सिर्जना गरेको प्रस्ट पारे । उनले प्रदेशको राजधानी सरकारले होईन प्रदेशसभाको बैठकपश्चात सभाले तोक्ने बताए ।