काँग्रेसले कसैलाई पनि प्रधानमन्त्रीमा प्रस्ताव नगरेको प्रवक्त शर्माको भनाई

१ माघ २०७४, सोमबार ०२:५३

माघ १, काठमाडौँ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले वाम गठबन्धन भत्काउन कांग्रेसले कसैलाई प्रधानमन्त्रीमा प्रस्ताव नगरेको बताएका छन् । आइतबार रिपोर्टस क्लबमा आयोजित साक्षात्कारमा बोल्दै शर्माले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तर्फ लक्षित गर्दै कांग्रेसले प्रधानमन्त्रीमा प्रस्ताव नगरेको बताएका हुन् ।

उनले प्रचण्डको नाम भने लिएनन्। ‘एमाले,माओवादी केन्दबीचको वाम गठबन्धन भत्काउन कांग्रेसले प्रधानमन्त्रीमा कसैलाई प्रस्ताव गरेको छैन’, प्रवक्ता शर्माले भने, ‘सडकमा कसले कुन सन्दर्भमा के बोल्नुभयो भन्ने कुराको जवाफ मैले कांग्रेस प्रवक्ताका रुपमा दिनु उचित हुँदैन। नेपाली कांग्रेस जनताले दिएको म्याण्डेट बमोजिम प्रतिपक्षमा बस्ने तर्फ नै गम्भीरतापूर्वक लाग्छ।’ उनले आधिकारिक रुपमा कांग्रेसले कसैलाई प्रधानमन्त्रीमा प्रस्ताव गर्ने भनेर कुनै निर्णय नगरेको पनि स्पष्ट पारे । उनले एमाले–माओवादी वीच एकता होस् भन्ने पक्षमा नै कांग्रेस रहेको सुनाए। ‘हामी शुभकामना दिन्छौं, उहाँहरुबीच एकता होस्’, उनले भने।