लालपुर्जा छ, ‘तर जग्गाको स्वामित्व छैन्’, ‘आशामै बित्यो ५० बर्ष’

२८ पुष २०७४, शुक्रबार १०:३१

श्याम गुप्ता
२८ पुस, बारा ।
बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१ स्थित पथलैयाबासिले बसोबास गरेको ५० बर्ष बितिसक्दा पनि आफ्ना घर टहराको स्वामित्व पाउँन सकेका छैनन् ।


सरकार परिवर्तनसँगै गठन हुँने सुकुम्वासी समस्या समाधान आयोगले कहिले लालपुर्जा वितरण गर्ने त कहिले सोही पुर्जा रद्द गर्ने प्रवृतिले उनीहरु जग्गाको स्वामित्वबाट बंचित भएका हुँन् ।
लाखौंको लगानीमा निर्मित भवन र विकशित हुँदै गएको पथलैयामा ७ सय २६ घरधुरी परिवारले बसोबास गर्दै आएका छन् ।

 पुर्व पश्चिम राजमार्गको निर्माणसँगै २०२१ साल देखि सडकका दुबै किनारामा होटल व्यावसाय सञ्चालन गर्दै आएका उनीहरु २०५५ सालमा सुकुम्बासी समस्या सामधान आयोगले वितरण गरेको जग्गा धनी पुर्जा र २०६७ सालमा आयोगले माँग गरेको प्रमाण पु¥याई हाल सम्मको १८ लाख ५२ हजार ४ सय १६ रुपैयाँ राजश्व समेत दाखिला गरिसकेका छन् ।

हातमा लालपुर्जा छ , स्वामित्व छैन् । करोडौं लगानीका संरचना भएर पनि कुँनै वित्तिय सस्थासँग कारोबार गर्न नपाउँदा याहाँका सर्वसाधारणलाई आर्थिक कारोवार गर्न समस्या परेको छ ।  त्यस्तै राज्यले पनि बर्सेनी लाखौंको राजश्व गुमाउँनु परेको स्थानीय प्रकाश लम्सालले बताए ।

 १५ बर्ष अगाडी लालपुर्जा हात पारेर पनि साना तिना विवादले अख्तियार सम्म धाउँन परेको र स्वामित्व कायमका लागि सडक आन्दोलन सम्म गरेको स्मरण गराउँदै अब स्थानीय जनप्रतिनिधीले पहल गरिदिए पुर्जाको स्वामित्व पाउँन सकिने स्थानीय समाजसेवी रामदास ध्यौजु बताउँ छन् ।

अख्तियारका कारण लालपुर्जा भएरपनि स्वामित्व नपाएको कुरा बुझिएको छ , यसलाई अगाडी बढाउँनका निम्ति आँफु लागी परेको जीतपुरसिमरा उपमहानगरपालिकाका मेयर डा.कृष्ण पौडेलले बताए ।
वर्षौं देखि पुर्जा बाँड्ने र स्वामित्व दिलाउँने आस्वासनले नेताहरुलाई भोट बैंकको थलो बनेको पथलैया स्थानीय प्रतिनिधिहरु आए पछि पुर्जाको स्वामित्व पाउँनेमा आशावादी देखिएका छन् ।